काठमाडौं, जेष्ठ १२ । प्रधानमन्त्री केपी शर्मा ओलीले आज राष्ट्रका नाममा सम्बोधन गर्ने भएका छन्।
कोरोना संक्रमणको महामारी फैलिँदै गएका बेला प्रधानमन्त्रीले यसमै केन्द्रित भएर सम्बोधन गर्न लागेका हुन्।
प्रधानमन्त्री ओलीका प्रेस सल्लाहकार सूर्य थापाले कोरोना भाइरसको संक्रमण रोकथाम तथा नियन्त्रणका सम्बन्धमा प्रधानमन्त्रीले आज सम्बोधन गर्न लागेको तर, समय भने तय नभइसकेको बताए।
सरकारले कोरोना संक्रमणसँग जुध्न देश लकडाउन गरेको आज ६३ दिन पुगेको छ। आउँदो २० जेठसम्म लकडाउन यथावत् रहने निर्णय सरकारले यसअघि नै गरिसकेको छ।
लकडाउन शुरू भएपछि यसअघि पनि प्रधानमन्त्रीले राष्ट्रका नाममा सम्बोधन गरेका थिए।
कोरोना भाइरस संक्रमण विस्तार हुन नदिन सरकारले गएको ११ चैतदेखि देशैभर लकडाउन लागू गरेको थियो।
पछिल्लो अद्यावधिक विवरण अनुसार नेपालमा संक्रमतिको संख्या ६७५ पुगेको छ। संक्रमितमध्ये ९८ जना कोरोनामुक्त भएका छन् भने ४ जनाको मृत्यु भएको छ।


























