काठमाडौं, जेष्ठ ११ । आगामी आर्थिक वर्षको बजेटलगायतको विषयमा छलफल गर्न आज मन्त्रिपरिषद्को बैठक बस्दैछ।
प्रधानमन्त्री निवास बालुवाटारमा अपरान्ह ४ बजे बैठक बस्न लागेको भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री पद्मा अर्यालले बताइन्।
उनले बैठकमा बजेटलगायत समसामयिक विषयमा छलफल हुने बताएकी छन्।
सरकारले आर्थिक वर्ष २०७७र७८ को बजेट ल्याउने तयारी गरिरहेको छ। त्यसकै विषयमा आवश्यक तयारी लगायतका विषयमा आजको मन्त्रिपरिषद्को बैठकमा छलफल हुने बताइएको छ।
त्यस्तै कोभिड(१९ को रोकथाम, नियन्त्रण र उपचारमा भइरहेको प्रयास र थप रणनीतिका बारेमा पनि छलफल पनि बैठकको अजेण्डा छ।
भारत र विदेशमा अलपत्र परेका नागरिकहरूको उद्दार गर्ने विषयमा पनि केही निर्णय हुन सक्ने बताइएको छ।
विदेशमा रहेका नेपालीहरुको उद्दार गर्ने सरकारले बताए पनि अहिलेसम्म के कसरी उद्दार गर्ने, उनीहरुको व्यवस्थापन कसरी गर्ने भन्ने विषयमा टुंगो लगाउन सकेको छैन।


























