जेष्ठ ९ । ला लिगा फुटबल जुन १२ बाट सुरु गर्ने तयारी गरिएको छ। लिगको पहिलो खेलमा सेभिल्ला र रियल बेटिसबीच प्रतिस्पर्धा गराईने भएको छ।
सेभिल्लाका खेल निर्देशकले एक स्पेनिस रेडियोमा दिएको अन्तरवार्ता अनुसार ला लिगा सुरु हुने मिति र उद्घान खेलको सुचना बाहिर आएको हो।
स्पेनको व्यवसायीक फुटबल जुनको मध्यबाट सुरु गर्ने लक्ष्य राखिएको छ। स्पेनिस क्लबलाई कम्तिमा १० जनाको समुहमा अभ्यास गर्न अनुमती प्रदान गरिएको छ।
‘डर्बी सहित ला लिगा फर्कनु भनेको यो भन्दा अरु राम्रो तरिका हुन सक्दैन।’ सेभिल्लाका खेल निर्देशक मोचीले भनेका छन्, ‘यो एक प्रोत्साहन हुनेछ। किनकी हामी सबै फुटबल फर्कने आश गरेका छौ। र यो पहिलो खेल शानदार हुनेछ।’
ला लिगका अध्यक्ष जाभियर टेबासले सिजनका बाँकी सबै खेल सम्पन्न गरिने बताएका छन्। ला लिगको तालिका अनुसार क्लबहरुले समान ११ खेल खेल्न बाँकी छ। बार्सिलोनाले लिग तालिकामा दुई अंकको अग्रता लिएको छ।
स्पेनिस फुटबल अधिकारीले सबै खेलाडीको स्वास्थ्य परिक्षण गरेका छन्। तर शीर्ष दुई डिभिजनका ५ खेलाडीमा कोरोनाको संक्रमण पुष्टि भएको छ।
खेल फर्कने समय स्वास्थ्य र सुरक्षाको चिन्ता प्रमुख बनेको छ। ला लिगा अध्यक्ष टेबासले खेलाडीलाई सबैभन्दा कम जोखिममा राखिने बताएका छन्।
युरोपका शीर्ष डिभिजनको लिग फुटबल बुन्डेसलिगा बन्द रंगशालामा सुरु भईसकेको छ। एजेन्सी


























