जेष्ठ ७ । विश्व फुटबलको सर्वोच्च निकाय फिफा कंग्रेसको बैठक सेप्टेम्बर १८ मा बस्ने टुङ्गो लागेको छ।
महामारीको रुपमा फैलिएको कोरोना भाईरसका कारण जुन ५ मा निर्धारण गरिएको फिफा कंग्रेस तीन महिना पछाडी सारिएको थियो।
फिफाले ७० औं कंंग्रेस बैठक जुन ५ बाट सारेर सेप्टेम्बर १८ मा लगेको थियो। बैठक ईथोपियाको अदीस अबाबामा बस्ने पक्का गरिएको थियो।
कोरोनाका कारण बिग्रदो स्वास्थ्य अवस्था र ह्वाई उडानमा अधिकांश देशले लगाएको प्रतिबन्धले बैठक सार्नु परेको फिफाले जनाएको थियो।
तर फिफाले अब सेप्टेम्बर १८ को निर्धारण गरेको मितिमै फिफा कंग्रेस बैठकको आयोजना गर्ने पक्का गरेको छ।
फिफाले आफ्ना बार्षिक कार्यक्रम पारित गर्नुपर्ने भएकाले सेप्टेम्बर १८ मै बैठक आयोजना गर्ने भएको हो।
सामाजिक दुरी कायम गर्नुपर्ने भएकाले फिफाले भिडियो भिडियो कन्फ्रेन्समार्फत साधारण सभा आयोजनाको तयारी गरेको छ।
सम्बन्धित देशका प्रतिनिधि भिडियो कन्फ्रेन्समार्फत फिफा कंग्रेस बैठकमा जोडिनेछन्।
एन्फाका एक अधिकारीका अनुसार फुटबलका बार्षिक गतिविधि प्रभावित हुन नदिने उद्धेश्यले भर्चुअल रुपमा साधारण सभा बैठक बस्ने पक्का भएको हो।
‘सेप्टेम्बर १८ मा भर्चुअल बैठक बस्ने टुङ्गो लागेको छ।’ एन्फाका एक अधिकारीले भने, ‘बैठकले बार्षिक कार्यक्रम पारित गर्नुका साथै अन्य नियमित एजेण्डामा छलफल गर्नेछ।’
बैठकले फिफाको बार्षिक कार्यक्रम पारित गर्नुका साथै बजेट, निलम्बन, नयाँ सदस्यता लगायतका विविधि बिषयमा निर्णय गर्नेछ।
कोरोनाकै महामारीका कारण फिफाले आफ्ना अधिकांश फुटबल कार्यक्रम स्थगित गरेको छ। फिफाले युरोकपदेखि विभिन्न उमेर समुहका विश्वकपको मिति तत्काललाई स्थगित गरेको जनाएको छ। एजेन्सी


























