चितवन, जेठ ७ । राष्ट्रिय चलचित्र पत्रकारिता दिवस तथा चलचित्र पत्रकार संघ नेपालको २१औं वार्षिकोत्सवको अवसरमा चलचित्र पत्रकार संघ चितवनले तीनजना पत्रकार र एकजना कलाकारलाई पुरस्कृत गर्ने निर्णय गरेको छ। मंगलबार बसेको अनलाइन बैठकबाट पत्रकारिता क्षेत्रमा सक्रिय चितवनका किशोर खनाल, सुशील पन्त क्षेत्री, काठमाडौँका विजय आवाज (सुवेदी) र वरिष्ठ कलाकार ऋद्धिचरण श्रेष्ठलाई पुरस्कृत गर्ने निर्णय गरेको हो। नेपाली चलचित्र क्षेत्रमा पुर्याएको योगदानको कदर गर्दै पत्रकार र कलाकारलाई पुरस्कृत गर्ने निर्णय गरिएको अध्यक्ष रवि अधिकारीले जानकारी दिए।
उनका अनुसार पुरस्कृत हुने चारैजनालाई जनही पाँच हजार पाँचसय रूपैयाँका दरले सम्मानपत्रसहित पुरस्कृत गरिनेछ। पत्रकार खनाल विगत १७ वर्षदेखि चितवनमा रहेर पत्रकारिता गरिरहेका छन्। हाल उनी चितवन पोष्ट दैनिकमा सह–सम्पादकको भूमिकामा कार्यरत छन्। पछिल्लो समयका सक्रिय पत्रकारिता गरिरहेका पन्त भने विगत ७ वर्षदेखि चितवनका विभिन्न रेडियोमा काम गर्दै हाल एटुजेड समाचार डटकममा सह–सम्पादकको भूमिका निर्वाह गरिरहेका छन्। काठमाडौंमा रहेर १५ बर्षदेखि पत्रकारिता गरिरहेका सुवेदी भने हाल अनलाइन खबर डटकममा मनोरन्जन विधातर्फ वरिष्ठ उप सम्पादकको रुपमा कार्यरत छन्।
नारायणगढ निवासी वरिष्ठ कलाकार श्रेष्ठ भने विगत ४० बर्षदेखि नेपाली चलचित्र क्षेत्रमा क्रियाशील छन्। ‘कान्छी’बाट चलचित्रबाट कलाकारिता क्षेत्रमा पाइला सारेका उनले हालसम्ममा करिब ७० भन्दा बढी चलचित्रमा काम गरिसकेका छन्। पुरस्कृत हुने सबैलाई वर्तमान परिस्थिति सहज भइसकेपछि औपचारिक कार्यक्रममार्फत पुरस्कार प्रदान गरिने संघका उपाध्यक्ष रामेश्वर खनालले जानकारी दिए। कोरोनाले निम्त्याएको असहज परिस्थितिका कारण कुनै पनि कार्यक्रम नभएकोले चलचित्र पत्रकार संघ चितवनले पनि वातावरण सहज भएपछि मात्रै पुरस्कार प्रदान गर्ने निर्णय गरेको उनले बताए।

























