जेष्ठ ५ । युरोपियन फुटबल एसोसियसन (युईएफए) का अध्यक्ष एलेक्जेन्डर सेफ्रिनले यस सिजनको च्याम्पियन्स लिग र युरोपा लिग अगष्टमा सक्ने तयारी भईरहेको बताएका छन्।
अध्यक्ष सेफ्रिनले बिनस्पोर्ट्ससँग कुरा गर्दै कोरोना भाईरसको कारण स्थगित २०१९/२० को सिजन अगष्टमा सक्ने तयारी भएको बताएका हुन्।
विश्वभर फैलिएको कोरोनाको कारण च्याम्पियन्स लिग र युरोपा लिगसहित विश्वका सम्पूर्ण खेलकुद गतिविधि गत मार्चबाट स्थगित गरिएको छ।
‘हामीसँग एक आइडिया छ तर, मिति पुष्टि गर्न हामीले युईएफएको कार्यकारी कमिटिको निर्णय पर्खनु पर्छ। म भन्न सक्दछु कि युरोपियन सिजन समाप्त हुनेछ। यदि सबै कुरा अहिलेकै जस्तो भए अगष्टमा,’ सेफ्सेरिनले भने।
च्याम्पियन्स लिग र युरोपा लिगमा अन्तिम १६ को खेलहरु बाँकी रहेको छ।
‘म पक्का छु कि हामी युरोपियन सिजन समाप्त गर्न सक्दछौं र यसको अर्थ युईएफएको प्रतिस्पर्धा हो,’ उनले थपे।
कोरोनाकै कारण फ्रेन्च लिग वान, डच लिग र बेल्जियमको लिग रद्द भईसकेको छ। जर्मनीको बुन्डेसलिगा भने शनिबारबाट बन्द रंगशालामा सुचारु भएको छ।
प्रिमियर लिग, सिरी ए र ला लिगा आगामी जुनबाट सुचारु गर्ने तयारी भईरहेको छ। एजेन्सी


























