जेष्ठ ५ । भारतको केन्द्र सरकारले कोरोना भाईरसका कारण जारी गरिएको लकडाउनलाई मे मसान्तसम्म बढाउने घोषणा गरेको छ।
चौथो पटक थप गरिएको लकडाउनमा गृहमन्त्रालयले लकडाउनको नयाँ मोडालिटी भने तय गरेको छ ।
भारतीय गृह मन्त्रालयले सार्वजनीक गरेको नयाँ निर्देशिका अनुसार स्पोर्ट्स कम्प्लेक्स र रंगशाला खोल्ने अनुमती प्रदान गरिएको छ।
मन्त्रालयले जारी गरेको निर्देशिका अनुसार बिना दर्शक रंगशाला खोल्ने अनुमती प्रदान गरिएको हो।
रंगशाला खोल्न अनुमती दिएसंगै ईन्डियन प्रिमियर लिग (आईपीएल) लगायतका भारतका ठुलो खेल प्रतियोगिताको आयोजनालाई लिएर छलफल सुरु भएको छ।
आईपीएललाई दर्शक बिना खेलाउन सकिने सम्भावनाका बिषयमा छलफल अघि बढेको हो। तर पछिल्लो समय जारी गरेको निर्देशिका अनुसार स्पोर्ट्स कम्प्लेक्स र रंगशाला केवल अभ्यासका लागि हो।
आईपीएलको १३ औं संस्करण भारतीय क्रिकेट बोर्ड (बीसीसीआई) ले अनिश्चित समयका लागि स्थगित गरेको छ।
बीसीसीआईले नयाँ तालिका बनाउने बिषयमा छलफल गरिरहेको भारतीय सञ्चार माध्यमहरुले बताएका छन्। आईपीएल रद्ध भएको अवस्थामा करिब साढे ६ हजार करोड रुपैयाँ घाटा हुने बताईएको छ। एजेन्सी


























