काठमाडौं, जेष्ठ ३ । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का प्रवक्ता नारायणकाजी श्रेष्ठ प्रकाशले भारतीय सेनाका प्रमुखले लिपुलेक विवादबारे गरेको टिप्पणी तत्काल सच्याउन माग गरेका छन्।
भारतीय सेनाका प्रमुख जनरल मनोज नरवणेले शुक्रबार लिपुलेक विवादमा नेपाललाई कसैले उचालिरहेको दाबी गरेका थिए।
नेकपा प्रवक्ता श्रेष्ठले शनिबार ट्वीट गरी लिम्पियाधुरा, लिपुलेक र कालापानीबारे नेपालको धारणामा भारतीय सेना प्रमुखले आफ्नो टिप्पणी सच्याउनु पर्ने उल्लेख गरेका हुन्।
भारतले धार्चुलाबाट तिब्बत जोड्नका लागि लिपुलेक हुँदै बनाएको बाटो अस्वीकार्य रहेको बताउँदै श्रेष्ठले कुनै पनि हालतमा नेपाली भूमिमाथिको अतिक्रमण स्वीकार्य नहुने उल्लेख गरेका छन्।
भारतीय सेनाका प्रमुख नरवणेले शुक्रबार भनेका थिए, ‘वास्तवमा, नेपाली राजदूतले काली नदीदेखि पूर्वको क्षेत्र उनीहरुको भनी उल्लेख गरेका छन्। त्यसबारे त कुनै विवाद नै छैन। हामीले बनाएको सडक त नदीभन्दा पश्चिमपट्टि रहेको छ। त्यसकारण, उनीहरु किन आन्दोलित भइरहेका छन्, मलाई थाहा छैन।’


























