काठमाडौं, बैशाख २८ । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका युवा नेता गगन थापाले नेपालको एक इञ्च मात्र भूमि तलमाथि गरेमा पनि छाड्दैनौं भनेर भारतलाई स्पष्ट रूपमा भन्न सरकारसँग आग्रह गरेका छन्।
आइतवार प्रतिनिधि सभा बैठकका परराष्ट्र मन्त्री प्रदीप ज्ञवालीले कालापानी उत्पन्न समस्याबारे सरकारका तर्फबाट जानकारी गराएपछि प्रतिप्रश्न गर्दै नेता थापाले यस्तो बताएका हुन्।
सांसद थापाले केही महिनाअघि उपप्रधान एवं रक्षामन्त्री ईश्वर पोखरेलले कालापानी–लिपुलेक क्षेत्रको अवलोकन गरेको भन्ने सन्दर्भमा समेत प्रश्न गरे।
‘केही समयअगाडि रक्षामन्त्रीले त्यो ठाउँ (कालापानी क्षेत्र) को अवलोकन गर्नुभएको थियो, के त्यो तीर्थयात्रा थियो ? थिएन भने उहाँले सरकारलाई के बताउनुभयो, र सरकारले यो बीचमा के काम गर्यो ?’ उनले प्रश्न गरे।
भारतको दादागिरीको प्रतिरोध गर्न कांग्रेस तयार रहेको थापाले बताए। ‘भारतको दादागिरी र चीनको न्यायो सहयोगको प्रतिरोध गर्न नेपाली कांग्रेस र सिंगो नेपाली जनता तयार छ,’ उनले भने, ‘सरकारले हामीबाट के अपेक्षा गरेको हो, हामी जान्न चाहन्छौं।’


























