काठमाडौं, बैशाख २८ । भारतले नेपालको १९ किलोमिटर भूमि मिचेर मानसरोवर जोड्ने सडक खनेको सरकारले बताएको छ।
प्रतिनिधिसभाअन्तर्गत अन्तर्राष्ट्रिय सम्बन्ध समितिको आज (आइतबार) को बैठकमा परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले भारतले दार्चुलाको लिपुलेक हुँदै तिब्बतको मानसरोवर जोड्ने सडक १९ किलोमिटर नेपाली भूमि मिचेर बनाएको जानकारी गराएका छन्।
उनले सीमा समस्या समाधान कूटनीतिक पहलबाट हुने विश्वास व्यक्त गरेका छन्। ‘हामीलाई विश्वास छ यो विषय कूटनीतिक पहलबाटै समाधान हुन्छ, तसर्थ यो मुद्दालाई अहिल्यै अन्तर्राष्टियकरण गर्नुपर्ने आवश्यकता छैन,’ बैठकमा उनले भने।
भारतले नेपाली भूमि मिचेर सडक बनाएको जानकारी पाउने बित्तिकै यसको विस्तृत जानकारी पठाउन दिल्लीस्थित नेपाली दूतावासलाई निर्देशन दिई सकिएको समेत उनले बताएका छन्।
बैठकमा सांसदले चीनसँगको सीमाका विषयमा पनि कुरा उठाएका थिए। जवाफमा परराष्ट्रमन्त्री ज्ञवालीले यसलाई पनि सरकारले गम्भीरतापूर्वक लिएको बताउँदै पहिले नेपाल भारतको सीमा निश्चित गर्न जरुरी रहेको जानकारी गराए।


























