काठमाडौं, बैशाख २४ । नेकपाका अध्यक्ष पुष्कमल दाहाल ‘प्रचण्ड’ र उपाध्यक्ष वामदेव गौतमबीच भेटवार्ता भएको छ।
बुधवार प्रचण्ड निवास खुमलटारमा दुई नेताबीच छलफल भएको स्रोतको भनाइ छ। भेटमा पार्टी सचिवालय बैठक र आगामी स्थायी समिति बैठक बारे छलफल भएको जनाइएको छ।
२५ गते बोलाइएको स्थायी समिति र त्यसअघि को सचिवालय बैठकबारे दुई नेताबीच कुराकानी भएको थियो भने यसअघि बसेको सचिवालय बैठकमा उपाध्यक्ष गौतमलाई उपयुक्त समयमा प्रतिनिधिसभाको उम्मेदवार बनाउने बारे भएको निर्णय बारे पनि छलफल भएको स्रोतको भनाइ छ।
पछिल्लो समयमा अध्यक्ष प्रचण्डले आफ्ना भेटघाटलाई तिब्रता दिएका छन्। शनिबार यता प्रचण्डको दौडधुप बढेको छ।
आइतबारदेखि प्रचण्ड नेता माधवकुमार नेपाल, झलनाथ खनाल, नारयाणकाजी श्रेष्ठसँगको भेटघाटमा व्यस्त बनेका छन् भने उनी प्रधानमन्त्रीसमेत रहेका अर्का अध्यक्ष केपी ओलीसँगको भेटवार्ताका लागि पनि बालुवाटार पुगिरहेका छन्।


























