चितवन, बैशाख १७ । विश्वप्रसिद्ध हलुका पेय पदार्थ ब्रान्ड कोकाकोलाले नेपालमा कोभिड-१९ प्रभावित समुदायलाई ८ करोड रुपैयाँ सहयोग गर्ने प्रतिवद्धता जनाएको छ।
कोभिड-१९ महामारीको फैलावट र प्रभावविरुद्ध लड्न अग्रपंक्तिमा रहेका स्वास्थ्यकर्मी, आपतकालिन कामदार, फोहोरमैला व्यवस्थापनका कर्मचारीहरु लगायत यस भाइरसबाट धेरै प्रभावित भएकाहरुलाई स्थानीय बोटलिङ पार्टनर बोटलर्स नेपाल मार्फत यो सहयोग गर्ने कोकाकोला कम्पनीले एक विज्ञप्तीमार्फत जानकारी दिएको छ।
नेपालमा कोरोना प्रभावितका लागि यो प्रारम्भिक सहयोगको वाचा भएको पनि विज्ञप्तीमा उल्लेख छ।
कोकाकोलाले नेपालमा शुरु गरेको राहत कार्यक्रमले अहिलेको अभूतपूर्व संकटको समयमा देशभरका एक लाखभन्दा बढीको जीविका लाभान्वित हुने उपेक्षा राखेको छ।
कोभिड–१९ बाट नेपाललाई सुरक्षित राख्न फ्रन्टलाइनमा खटिएका स्वास्थ्यकर्मी र आपतकालिन कामदारहरुका लागि आधारभूत स्वास्थ्य सुविधा, आवश्यक मेडिकल उपकरण र व्यक्तिगत सुरक्षा उपकरण (पीपीई) हरुको आपूर्ति वृद्धि गरी तत्काल राहत प्रदान गर्दै समुदायलाई सहयोग गर्न सक्रिय कदम चालेको कोकाकोलाले जनाएको छ।
यसका साथै कम्पनीले दैनिक ज्यालामा निर्भर प्रभावित समुदायलाई खाद्यान्न लगायतका राहत सामाग्रीहरु पनि सहयोग गरेको छ। कोकाकोलाले कोभिड-१९ विरुद्ध लड्नका लागि सहयोग पुर्याउने र प्रभावितलाई राहत प्रदानका यी पहलहरु नेपाल रेडक्रस सोसाइटी, रिसाइक्लिङ पार्टनर क्रिएशनसँग लगायतका गैरसरकारी संस्थासँगको साझेदारी र समुदायहरुको संयुक्त प्रयासमा शुरु गरेको बताएको छ।
कोकाकोला कम्पनी र बोटलिङ पार्टनर बोटलर्स नेपाल यस विश्वव्यापी संकटमा आफ्ना कर्मचारी, उपभोक्ता र समुदायहरुको सुरक्षा र हित सुनिश्चित गर्न प्रतिबद्ध रहेको विज्ञप्तीमार्फत जनाइएको छ।
नेपालमा आफ्ना साझेदारहरुसँग मिलेर स्वास्थ्य, सुरक्षा र समुदायको जीवनयापन सुधारका लागि काम गरिरहेको कोकाकोला अपरेशनका भाइस प्रेसिडेन्ट सुन्दीप बजोरियाले बताएका छन्।
विज्ञप्तीमा उनलाई उद्धृत गर्दै भनिएको छ, ‘विश्वव्यापी महामारी कोभिड-१९ ले हामी सबैका लागि अत्यन्तै चुनौतिपूर्ण समय निम्त्याएको छ। यो अशान्तिका बखत हामीलाई स्थिर राख्ने सम्पूर्ण साहसी फ्रन्टलाइन कर्मचारीहरुप्रति हार्दिक आभार प्रकट गर्दछौं। महामारीमा मार्ग निर्देशनका लागि हाम्रो दृष्टिकोण कम्पनीको उद्देश्यमा आधारित छ, जसले हामी विश्वभरका समुदाय र मानिसहरुमा प्रभावकारी सेवालाई निरन्तरता दिन प्रयासरत रहेको सुनिश्चित गर्दछ।’


























