बैशाख १५ । लिभरपुलका प्रशिक्षक योर्गेन क्लोपले फ्रान्सेली स्टार केलियन एम्बाप्पे अनुबन्धमा चासो राखेका छन्।
एनफिल्ड प्रशिक्षक क्लोपले एम्बाप्पेका बुवा विल्फ्रेडसंग फ्रान्सेली स्टारको भविष्यको बिषयमा छलफल गरेका हुन्।
क्लोपले फ्रान्सेली क्लब पेरिस सेन्ट जर्मेन (पीएसजी) का स्टार एम्बाप्पेको सम्भावित गन्तव्यको बिषयमा उनको बुवासंग छलफल गरेका छन्। एनफिल्ड क्लबले पीएसजीका स्टार एम्बाप्पेलाई आफ्नो सम्भावित खेलाडीको सूचिमा राखेको छ।
क्लबका स्टार साडियो माने निरन्तर रुपमा रियल मड्रिडसंग जोडिएपछि लिभरपुलले समेत युरोपेली क्लब फुटबलका तिव्र गतिका फुटबलर एम्बाप्पेमाथि नजर लगाएको हो।
एम्बाप्लेले यसअघि पीएसजी क्लब छाड्ने संकेत गरेका थिए। क्लब फुटबलका सर्वाधिक माग गरिएका एम्बाप्पेलाई अनुबन्ध गर्न लिभरपुलले विश्व कीर्तिमानी मुल्य रकम खर्च गर्नुपर्नेछ।
फ्रान्सेली मिडियाका अनुसार क्लोपले समर ट्रान्सफरमा एम्बाप्पे अनुबन्धका लागि उनको बुवासंग प्रस्ताव राखेका छन्। सेनेगर फरवार्ड मानेलाई बाहिर पठाउँदै लिभरपुल सरुवा बजारमा ठुलो नामलाई क्लबमा भित्र्याउन चाहन्छ।
पीएसजीले सन् २०१७ मा विश्व कीर्तिमानी मुल्यमा बार्सिलोनाबाट नेयमारलाई अनुबन्ध गरेको थियो। एम्बाप्पेको सरुवाले सो रकमको कीर्तिमान भंग गर्न सक्ने अनुमान गरिएको छ।
एम्बाप्पेका लागि करिब २ सय ५० मिलियन पाउण्डको सम्भावित रकम निर्धारण गरिएको छ। तर कोरोना भाईरसले बिग्रिएको युरोपको अर्थतन्त्रले ठुलो रकमको सरुवा कठिन हुने अनुमान पनि गरिएको छ।
लिभरपुलले सन् २०१७ मै एम्बाप्पेको प्रतिनिधिसंग सम्पर्क गर्दै सम्भावित गन्तव्यको बिषयमा छलफल गरेको थियो। तर मोनाकोका स्टार फरवार्ड ठुलो मुल्यमा अर्को फ्रान्सेली क्लब पीएसजी पुगेका थिए।
लिभरपुल युरोपेली क्लब फुटबलमा नयाँ च्याम्पियनको रुपमा उदाएको छ।
क्लबले गत सिजन च्याम्पियन्स लिगको उपाधि जितेको थियो भने पहिलो पटक प्रिमियर लिग उपाधिको नजिक रहेको छ। सोही कारण प्रशिक्षक क्लोप विश्व फुटबलका उत्कृष्ट खेलाडी एम्बाप्पेलाई आफ्नो क्लबमा चाहेका छन्। एजेन्सी


























