बैशाख १४ । रियल मड्रिडका अध्यक्ष फ्लोरेन्टिनो पेरेज अझैपनि ब्राजिली स्टार नेयमारलाई अनुबन्ध गर्न चाहेको खुल्न आएको छ।
नेयमारका पूर्व एजेन्ट वाग्नर रिबेरोले बताए अनुसार रियल मड्रिडका अध्यक्ष पेरेजले अझैपनि नेयमार अनुबन्धको सपना देख्ने गरेका छन्।
ब्राजिली क्लब सान्तोषमै रहदा पेरेजले नेयमारलाई रियलमा ल्याउन चाहन्थे। तर ब्राजिली स्टारले मनले रोजेको क्लब भन्दै रियलको प्रतिद्धन्दी बार्सिलोना जाने निर्णय गरेका थिए।
बार्सिलोना अझै नेयमारलाई फ्रान्सेली क्लब पेरिस सेन्ट जर्मेन (पीएसजी) बाट नाउ क्याम्प फर्काउन चाहन्छ। तर बार्सिलोनाले आर्थिक कारण नेयमारलाई फकाउने सम्भावना निकै कठिन रहेको बताईएको छ।
‘नेयमारलाई बार्सिलोले चाहेको थियो। जब उनी सान्तोषमा थिए।’ रिबेरोले भनेका छन्, ‘मैले उनलाई रियलमा लैजान धेरै कोशिश गरे। मैले साओ पाउलोमा रियल मड्रिडका तीन निर्देशकलाई समेत ल्याएको थिए।’ रिबेरोले भने।
‘उनीहरुले नेयमारको बुवासंग मेरो अफिसमा १५ दिन बिताएका थिए। नेयमारलाई अनुबन्ध गर्न निकै कोशिश गरेका थिए। तर अन्तिममा नेयमारले मनको कुरा सुन्ने भन्दै फरक क्लब रोजे। उनी बार्सिलोनामा खेल्न चाहन्थे।’ उनले थपे।
‘नेयमार अनुबन्ध गर्नु फ्लोरेन्टिनोको सपना हो। गत बर्ष मेमा म उनको अफिस पुगेको थिए। र उनले मलाई भनेको थिए, उनीसंग अझै त्यो सपना बाँकी छ।’ उनले भने।
नेयमारले चार सिजन बार्सिलोनामा बिताएका थिए। उनले दुई ला लिगा सहित, तीन कोपा डेल रे र च्याम्पियन्स लिगको उपाधि जितेका थिए।
उनले बार्सिलोनामा रहदा लियोनल मेस्सी, लुईस स्वारेजसंग गज्जवको तालमेल देखाएका थिए। उनले सबै प्रतियोगितामा क्लबका लागि १ सय ८६ खेलमा १ सय ५ गोल गरेका थिए।
उनी सन् २०१७ मा विश्व कीर्तिमानी मुल्यमा पीएसजी लागे। उनले फ्रान्समा समेत निरन्तर गोल गर्दै उपाधि उचाले। तर उनी पुन स्पेनिस फुटबलमा फर्कन चाहन्छन्।
बार्सिलोनाले गत बर्ष समेत नेयमार अनुबन्धमा निकै कोशिश गरेको थियो। खेलाडी सरुवा बजार खुल्ने बित्तिकै बार्सिलोनाले पुन नेयमार अनुबन्धमा कोशिश गर्ने जनाएको छ। उसले ईन्टर मिलानका फरवार्ड लौटेरो मार्टिनेजलाई ल्याउन समेत ईच्छा देखाएको छ। एजेन्सी


























