काठमाडौं, बैशाख १३ । नेपालका पहिलो कम्युनिष्ट प्रधानमन्त्री तथा तत्कालीन नेकपा एमालेका पूर्व अध्यक्ष मनमोहन अधिकारीको स्मृति दिवस आज परेको छ।
यसअघिका वर्षहरुमा उनको सम्झनामा कार्यक्रम हुने गरेका भए पनि कोरोना सङ्क्रमण रोकथाम तथा नियन्त्रणको लागि लकडाउन चलिरहेकाले यसपाली कुनै पनि औपचारिक छैन। विसं १९७८ सालमा काठमाण्डौमा जन्मेका अधिकारीको २०५६ साल वैशाख १३ गते निधन भएको थियो।
लामो राजनीतिक संघर्षको क्रममा उनले १७ वर्ष जेल जीवन बिताएका थिए। पढाइको सिलसिलामा भारतको बनारसमा रहँदा भारत छोडो आन्दोलनमा सहभागि हुँदा उनी बनारसमा जेल परेका थिए।
जेलमा भारतीय कम्युनिष्ट नेतासँगको सम्पर्कमा उनी कम्युनिष्ट पार्टीमा संगठित भएका थिए। अधिकारीले २००३ सालमा विराटनगरमा भएको मजदूर हडतालको नेतृत्व गरेका थिए। उनी २०५१ सालमा देशको पहिलो कम्युनिष्ट प्रधानमन्त्री भएका थिए।


























