बैशाख १३ । नेदरल्याण्डको शीर्ष डिभिजनको फुटबल लिग रद्ध गरिएको छ।
कोरोना भाईरसको महामारीका कारण अनिश्चित रुपमा स्थगित चालू सिजनको लिग रद्ध गर्ने निर्णय भएको हो। लिग रद्ध भएपछि उपाधि विजेता टिमको घोषणा हुने छैन। यस्तै, यस सिजन कुनैपनि टिम रेलिगेशनमा जाने छैनन्।
कोरोनाका कारण सरकारले सेप्टेम्बर १ सम्म मुख्य प्रतियोगिता गर्न रोक लगाएको छ। डच फुटबलको सर्वोच्च निकाय केएनभीबीले चालू सिजन फुटबल खेल्न असम्भव भएकाले सो निर्णय गर्नुपरेको जनाएको छ।
लिग तालिकामा अजाक्स शीर्ष स्थानमा थियो। समान अंक भएपनि गोल अन्तरका आधारमा अल्कमार दोस्रो स्थानमा रहेको थियो। प्रतियोगितामा ९ चरणका खेल हुन बाँकी थियो।
लिग रद्ध भएपनि अजाक्स र अल्कमार दुवै टिम च्याम्पियन्स लिगको छनोट चरणमा जानेछन्।
शीर्ष डिभिजनको लिग बढुवा र घटुवा दुवै नहुने भएपछि दोस्रो डिभिजनको लिग लिडर कम्बुरलाई ठुलो घाटा लाग्ने भएको छ। उसले प्लेअफ टिमसंग ११ अंकको अग्रता लिएको थियो।
कम्बुरका प्रशिक्षक हेन्क डी जोनले ब्रोडकास्टर एनओएससंग कुराकानी गर्दै डच फुटबलको ईतिहासमा सबैभन्दा निराश क्षण महशुश गरेको टिप्पण गरेका छन्।
कोरोनाबाट नेदरल्याण्डमा ४ हजार मानिसले ज्यान गुमाएका छन्। सन् १९५६ यता डच लिग च्याम्पियन टिमको टुङ्गो नलगाएर कहिल्यै रद्ध भएको थिएन। एजेन्सी


























