बैशाख १३ । जर्मन कप फुटबल प्रतियोगिताको फाईनल अनिश्चितकालका लागि स्थगित गरिएको छ।
कोरोना भाईरसको संक्रमणको कारण देखाउँदै प्रतियोगिता अनिश्चित समयका लागि स्थगित गरिएको हो। प्रतियोगिता अब बन्द रंगशालामा सञ्चालन हुन सक्ने सम्भावना छ।
जर्मन फुटबल महासंघले प्रतियोगिताको फाईनल मे २३ मा सञ्चालन गर्ने तय गरेको थियो। महासंघका अध्यक्ष फ्रिट्ज केलेरले संकटको अवस्थामा महत्वपूर्ण खेल दर्शक बिना बन्द रंगशालामा हुने सम्भावना रहेको बताए।
महामारीको रुपमा फैलिएको कोरोनाका कारण सेमिफाईनलको खेल समेत स्थगित गरिएको थियो। सेमिफाईनलको खेल यसै साता सञ्चालन गर्ने पूर्व निर्धारित तालिका थियो।
प्रतियोगिताको सेमिफाईनलमा बार्यन म्युनिख सहित बार्यन लिभरकुशन, फ्रेन्कफर्ट र चौथो डिभिजनको क्लब एफसी सारब्रुकेन पुगेका थिए।
महासंघले सेमिफाईनल सहित फाईनल खेलको नयाँ मिति सार्वजनीक गरेको छैन। बिहिबार मात्र जर्मन फुटबल लिगले मे ९ बाट बुन्डेशलिगा सुरु गर्ने बताएको थियो। एजेन्सी


























