बैशाख १२ । अन्तर्राष्ट्रिय क्रिकेट परिषद (आईसीसी) को प्रमुख कार्यकारी समितिको बैठक विहिबार बसेको छ।
कोरोना भाईरसको महामारीको कारण भिडियो कलमार्फत समितिको बैठक बसेको हो। तर, बैठकमा महत्वपूर्ण निर्णय भने नभएको आईसीसीले जनाएको छ।
बैठकमा १२ पूर्ण सदस्य राष्ट्र र ३ एसोसियट राष्ट्रको सहभागिता रहेको थियो। बैठकमा सहभागी राष्ट्रले कोरोनाको कारण क्रिकेटमा उत्पन्न चुनौती मिलेर सामना गर्न भने प्रतिवद्धता जनाएका थिए।सहभागी राष्ट्रले कोरोनाको प्रभावबारे जानकारी गराएका थिए।
ठुला प्रतियोगिताका विभिन्न योजनाहरुलाई भने जारी राख्ने सहमति भएको आईसीसीले जनाएको छ। जसमा पुरुष टी-ट्वान्टी विश्वकप र सन् २०२१ को महिला विश्वकप समेत रहेको छ।
यस्तै कोरोनापछि क्रिकेट सुचारु गर्ने विषयमा समेत छलफल भएको थियो।
‘अन्तर्राष्ट्रिय क्रिकेट फेरि सुरु गराउने सम्बन्धमा जिम्मेवार निर्णय लिनुपर्नेमा सहमत भयौं,’ आईसीसीका प्रमुख कार्यकारी मनु श्वानेले भने, ‘आईसीसीको विश्वव्यापी कार्यक्रमहरु सम्पन्न गर्न जटिलताहरू विस्तृत छन्। हामी यसमा संलग्न सबैको स्वास्थ्य र सुरक्षाको रक्षा गर्नका लागि तयार छौं।’
बैठकमा विभिन्न राष्ट्रको भ्रमण कार्यक्रम बारेमा समेत छलफल भएको बताईएको छ। सन् २०२३ सम्म तय भएको प्रतियोगिताहरु सम्भव भएसम्म पुन: हेरफेर गर्न सकिने जनाईएको छ।
विश्व टेष्ट च्याम्पियनसिप र क्रिकेट विश्वकप सुपर लिगको बारेमा आगामी दिनमा विचार गरिने आईसीसीले जनाएको छ।
अष्ट्रेलिया क्रिकेटका प्रमुख कार्यकारी केभिन रोबर्ट्सले आईसीसी र आफ्नो स्थानीय आयोजक कमिटिले विश्वकपको बारे निरन्तर छलफल गरिरहेको बताए।
‘क्रिकेट अष्ट्रेलियाले नजिकबाट आईसीसी र स्थानीय आयोजक कमिटिसंगै अष्ट्रेलिया सरकारसँग मिलेर टी-ट्वान्टी विश्वकप अक्टोबरमा खेलाउन सकिने वा नसकिने विषयमा छलफल गर्दै आएका छौं,’ उनले भने ‘हामीले यो प्रतियोगिताको लागि सबैको राय लिदै आएका छौं। सबैलाई सुरक्षितका साथ यस्तो उत्कृष्ट प्रतियोगिता आयोजना गर्दै खुसियाली मनाउन चाहान्छौं।’ एजेन्सी


























