बैशाख १२ । लियोनल मेस्सीले समर ट्रान्सफरमा नेयमारलाई भित्र्याउन क्लबमाथि जोड दिएका छन्।
बार्सिलोनाले नयाँ सिजनका लागि नेयमार सहित ईन्टर मिलानका फरवार्ड लौटेरो मार्टिनेजलाई अनुबन्धको प्रयास गरिरहेको छ। क्लबले दुवै खेलाडीलाई उच्च प्राथमिकतामा राख्दै छलफल प्रक्रिया अघि बढाएको छ।
विश्वमा महामारीको फैलिएको कोरोना भाईरसको कारण आर्थिक संकटबाट गुज्रिरहेको क्लबलाई दुई ठुला स्टारलाई अनुबन्ध गर्न समस्या छ। सोही कारण दुवै खेलाडी यसै सिजन बार्सिलोना आउने सम्भावना अनिश्चित छ।
बार्सिलोना फरवार्ड मेस्सीले मार्टिनेजको तुलनामा नेयमारलाई प्राथमिकतामा राख्न क्लबलाई सुझाव दिएका हुन्।
स्पेनिस रेडियोलाई क्लबका अधिकारीले भनेका छन्, ‘यदी मेस्सीले नेयमार र मार्टिनेज मध्य एक छनोट गर्ने अवस्थामा पक्कैपनि ब्राजिली स्टारलाई रोज्नेछन्।’
नेयमारले बार्सिलोनाबाट सन् २०१३ देखि २०१७ सम्म खेलेका थिए। उनले मेस्सी र लुईस स्वारेजसंग राम्रो साझेदारी गर्दै १ सय ५ गोल गरेका थिए। त्यसपछि उनी विश्व कीर्तिमानी मुल्यमा फ्रान्सेली क्लब पेरिस सेन्ट जर्मेन (पीएजी) पुगेका थिए। पछिल्लो सिजन उनी बार्सिलोना फर्कने कोशिश गरिरहेका छन्।
बार्सिलोना फर्कने अवस्थामा नेयमारको तलबमा भारी कटौती हुने सम्भावना रहेको छ। पीएसजीले उनका लागि बार्षिक ४४ मिलियन पाउण्ड तलबको प्रस्ताव गरेको छ।
बार्सिलोना अर्जेन्टिनी स्टार मार्टिनेजसंग समेत जोडिएको छ। तर कोरोनाका कारण आर्थिक समस्याले बार्सिलोनामाथि मार्टिनेज अनुबन्धमा प्रश्न उब्जाएको छ। बार्सिलोनाले ईन्टर मिलानका फरवार्ड मार्टिनेजसंग आफ्ना दुई खेलाडी साट्नका लागि प्रस्ताव गरेको छ।
बार्सिलोनाले दुवै खेलाडीलाई प्राथमिकतामा राख्दै नयाँ सिजनका लागि अनुबन्धको प्रयास गरिरहेको छ। तर दुवै खेलाडीलाई जोड्न आर्थिक व्यवस्थापन गर्नुपर्ने चुनौती बार्सिलोनामाथि छ।
मेस्सी खेलाडी सरुवा प्रक्रियासंग जोडिएका छैनन्। तर नयाँ खेलाडी अनुबन्धमा उनको चासो छ। सोही कारण उनी नेयमारलाई जोड दिएर समर ट्रान्सफरमा अनुबन्ध गर्नुपर्ने दबाब दिईरहेका छन्। एजेन्सी


























