बैशाख ११ । कोरोना भाईरसको कारण स्थगित जर्मन बुन्डेस लिगा फुटबल आगामी मे महिनाबाट सुचारु हुने भएको छ। जर्मन फुटबल लिग (डीएफएल) ले बिहिबार स्थगित बुन्डेस लिगा आगामी मेबाट पुनः सुचारु गर्ने जनाएको छ।
डीएफएलले स्थगित लिग मे ९ बाट सुचारु हुने सम्भावना बढी रहेको जनाएको छ। तर, सरकारको निर्णयले मात्र सुचारु हुने मिति पक्का हुने बताईएको छ।
‘बुन्डेस लिगा सुचारुको लागि तयार छ। मे ९ वा त्यसपछिको मिति हुन्छ। तर, अहिले मिति तय भएको छैन। राजनीतिक दलले निर्णय गर्नेछ,’ डीएफएलका सिईओ क्रिस्टियन सेइफार्टले भने।
डीएफएलले लिगमा सहभागी ३६ क्लबलाई नयाँ मितिबारे सूचित गरिसकेको जनाएको छ। तर, लिग बन्द रंगशालामा खेलाईने डीएफएलले जनाएको छ।
कोरोनाको कारण बुन्डेस लिगा अप्रिल ३० सम्मका लागि स्थगित गरिएको छ। कोरोनाको कारण जर्मनीमा ४ हजार बढीको मृत्यु भएको छ । यस्तै १ लाख बढीमा संक्रमण देखिएको छ। एजेन्सी


























