काठमाडौं, बैशाख ११ । गए राती समाजवादी पार्टी र राष्ट्रिय जनता पार्टी एकता गरी गठन गरिएको नयाँ दल जनता समाजवादी पार्टीका नेताहरु निर्वाचन आयोग पुगेका छन्।
आयोगको कार्यालय खुल्नासाथ समाजवादी पार्टीका नेता राजेन्द्र श्रेष्ठलगायत कान्तिपथस्थित आयोगको कार्यालय पुगेका हुन्।
नयाँ दल दर्ताका लागि अहिले बिहन साढे १० बजे निर्वाचन आयोग पुग्ने कार्यक्रम रहेको नेता केशव झाले नेपालखबरलाई जानकारी दिएका थिए।
‘मुलुकमा लकडाउन छ, त्यसैले हामी धेरै भिडभाड नहुने गरी दल दर्ताका लागि निर्वाचन आयोग जाने तयारीमा छौं,’ बिहीबार बिहान नेता झाले भने, ‘आज हामी एकता गरिएको नयाँ दल दर्ता गर्नेछौं।’
दल दर्ताका लागि समाजवादीका तर्फबाट डा. बाबुराम भट्टराई, उपेन्द्र यादव, अशोक राईलगायत तथा राजपाका तर्फबाट महन्थ ठाुकर, राजेन्द्र महतो, महेन्द्र यादव, शरतसिंह भण्डारी निर्वाचन आयोग जाने कार्यक्रम रहेको महन्थ ठाकुरका स्वकीय सचिव महेश चौरसियाले जानकारी दिए।


























