काठमाडौं, बैशाख १० । प्रमुख प्रतिपक्षी कांग्रेसले सरकारले ल्याएको ‘राजनीतिक दल र संवैधानिक परिषद्’ सम्बन्धी दुई अध्यादेश फिर्ताका लागि दबाब बढाउन सत्ताइतर दलसँग छलफल थाल्ने भएको छ।
बुढानिलकण्ठ सभापति शेरबहादुर देउवा निवासमा मंगलबार बसेको कांग्रेस पदाधिकारी बैठकले सामाजिक सञ्जालमार्फत ‘सरकारलाई कालो झन्डा देखाउने र दुवै अध्यादेश फिर्ता लिन दबाब बढाउने’ निर्णय गरेको हो।
कांग्रेस सहमहामन्त्री डा. प्रकाशशरण महतले संसद्मा भएका तर सत्तासँग नजोडिएका दलसँग बुधबार सरकारले ल्याएका अध्यादेश विषयमा छलफल हुने र फिर्ता लिन दबाब बढाइने जानकारी दिए।
पदाधिकारी बैठकले सरकारले संविधानको भावना, मर्म तथा लोकतन्त्रको मूल्य र मान्यताविरुद्ध अध्यादेश ल्याइएको ठहरसमेत गरेको छ। सम्पूर्ण लोकतन्त्रप्रेमी नागरिकलाई सरकारको निर्णयको प्रतिवादमा उत्रन पनि बैठकले आग्रह गरेको छ।
सरकारका गलत कामका लागि सडकमै उत्रिएर विरोध गर्नुपर्ने अवस्था नरहेको भन्दै कांग्रेसले कोरोना संक्रमणको त्रास र लकडाउनका कारण सरकारविरुद्ध सामाजिक सञ्जालबाटै कालो झन्डा देखाउनेलगायत गर्ने बताएको हो।
कांग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले सरकारको गलत निर्णयविरुद्ध सामाजिक सञ्जालबाट दबाब बढाइने जानकारी दिँदै मंगलबारबाटै विरोध प्रक्रिया सुरु गरिसकेको जनाए।

























