हेटौँडा, ०२ जेठ। प्रदेश नं ३ का आर्थिक मामिला तथा योजनामन्त्री कैलाश ढुङ्गेलले कृषि क्षेत्रलाई प्राथमिकतामा राखेर काम गरे मात्र विकासले फड्को मार्ने बताएका छन्। बिहीबार प्रदेश नं ३ को प्रदेश नीति तथा योजना आयोगले आयोजना गरेको कृषि वित्तीय स्रोत व्यवस्थाफन विषयक अन्तक्रिया कार्यक्रममा बोल्दै मन्त्री ढुंगेलले भने, ‘कृषक र कृषि क्षेत्रलाई प्राथमिकतामा राखेर काम गर्न सकेका छैनौँ।
त्यसैले अबका दिनमा कृषक र कृषि क्षेत्रलाई हेर्ने दृष्टिकोणमा परिवर्तन गरिनुपर्छ।’ कृषि विकास बैंकले अब अनुदान दिँदा उत्पादनलाई प्राथमिकतामा राख्नुपर्ने उनको भनाइ छ। बैंकले पहुँचलाई हेरेर कर्जा वा अनुदान दिने कार्य हटाउनुपर्ने उनले बताए। ‘बैंकहरुले कार्यशैली परिवर्तन गर्नुपर्छ,’ मन्त्री ढुंगेलले भने।
भूमि व्यवस्था, कृषि तथा सहकारीमन्त्री दावा दोर्जे लामाले भने कृषि विकास बैंकले अब ग्रामीण क्षेत्रमा गएर सेवा दिनुपर्ने बताए। ‘सामुहिक खेती प्रणालीमा काम गर्ने कृषकलाई बैंकले सहजरूपमा सेवा दिनुपर्छ,’ उनले भने। बैंकका प्रमुख कार्यकारी अधिकृत अनिलकुमार उपाध्यायले स्रोत साधनको अभावमा सबै स्थानीय तहमा सेवा दिन नसकिएको बताए।