काठमाडौं, बैशाख ९ । राष्ट्रिय प्रजातन्त्र पार्टीले सरकारले जारी गरेको अध्यादेशहरु संविधानको मर्मविपरित रहेको जनाएको छ।
‘सत्तारुढ नेकपाभित्रको आन्तरिक शक्ति संघर्षको परिणाम स्वरुप देश फेरि राजनीतिक अस्थिरताको दलदलमा फस्ने खतरा देखिएको छ। कोभिड-१९ को महामारीविरुद्ध सिंगो मुलुक एकजुट भएर लाग्नुपर्ने अवस्थामा सरकारले हालै ल्याएको ‘राजनीतिक दल सम्बन्धीु र ‘संवैधानिक परिषद्सम्बन्धीु दुई अध्यादेशहरु अनुपयुक्त,अनावश्यक र संविधानको भावना विपरित रहेको राप्रपाको ठहर छ,’ विज्ञप्तिमा उल्लेख छ।
राजनीतिक दलसन्बन्धी अध्यादेशले दल विभाजनलाई प्रोत्साहित गर्ने, राजनीतिक अस्थिरता बढ्ने र अन्ततः प्रजातन्त्रलाई धरापमा पार्ने टड्कारो सम्भावना रहेको जारी विज्ञप्तिमा उल्लेख छ।
यसैगरी संवैधानिक परिषद्सम्बन्धी अध्यादेशले प्रजातन्त्रको मुलभूत मान्यताको रुपमा रहेको शक्ति पृथकीकरण र शक्ति सन्तुलनलाई कमजोर बनाउने र देशमा स्वेच्छाचारी शासन कायम हुनसक्ने खतरा रहेको राप्रपाले जनाएको छ।
‘सम्भावित राजनीतिक अस्थिरता र प्रजातन्त्रको भविष्यमाथि आइपर्नसक्ने गम्भीर संकटलाई दृष्टिगत गर्दै उक्त दुई अध्यादेशहरु फिर्ता लिन राप्रपा सरकार र सत्तारुढ दल नेकपालाई आग्रह गर्दछ,’ विज्ञप्तिमा भनिएको छ।
कोरोना भाइरसको महामारी नियन्त्रण गर्ने कठिन चुनौतीलाई देशले सामना गरिरहेको वर्तमान अवस्थामा अस्थिरता र अराजकता बढाउने कुनै गतिविधि नगर्न समेत सरकार र नेकपालाई राप्रपाले आग्रह गरेको छ।


























