काठमाडौं, बैशाख ८ । एकै पटक १३ जना कोरोनाभाइरस (कोभिड–१९) संक्रमित फेला परेको उदयपुर जिल्लामा सरकारले परीक्षणलाई तीब्र बनाएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।
हाल संक्रमित फेला परेको क्षेत्रका थप १ सय ५२ जनाको स्वाब संलकन गरी पीसीआर प्रविधिबाट परीक्षणबाट भइरहेको मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले जानकारी दिएका हुन्। उदयपुरमा फेला परेका सबै संक्रमितहरुको कोशी अञ्चल अस्पतालमा उपचार भइरहेको छ।
मन्त्रालयका अनुसार हालसम्म ३३ हजार ५६२ जनाको पीसीआर र आरडीटी प्रविधिबाट कोभिड–१९ को परीक्षण भइसकेको छ। जसमा पीसीआरबाट ८ हजार ४१४ जना र आरडीटीबाट २५ हजार १४८ जनाको परीक्षण भएको छ। सबै जिल्लामा आरडीटी परीक्षण सुरु भएको मन्त्रालयको भनाइ छ।
डा. देवकोटाका अनुसार प्रदेश १ मा २३४९ जना, प्रदेश २ मा ३२३८ जना, बागमती प्रदेशमा ४६७६ जना, गण्डकी प्रदेशमा ३७५१ जना, प्रदेश ५ मा २३२४ जना, कर्णाली प्रदेशमा ३२३२ जना र सुदूरपश्चिम प्रदेशमा ५५७८ जनाको परीक्षण भइसकेको छ।
हाल क्वारेन्टाइनमा ५ हजार ९३६ जना तथा आइसोलेसनमा १११ जना रहेका छन्। रेडजोनमा रहेको संख्या २६३ जना रहेका छन्।
नेपाल हालसम्म ३१ जना कोरोनाभाइरस संक्रमित फेला परेका छन् भने ४ जना निको भएर घर फर्किसकेका छन्। बाँकी २७ जनाको विभिन्न अस्पतालमा उपचार भइरहेको छ भने सबैको स्वास्थ्य अवस्था सामान्य रहेको छ।


























