बैशाख ७ । जर्मन क्लब बोरुसिया डर्टमण्डले युवा फरवार्ड जाडोन साञ्चोलाई क्लबमै राख्ने तयारी गरेको छ।
उसले साञ्चो क्लबमै बसेको खण्डमा प्रति सिजन थप ४ मिलियन पाउण्ड तलब बढाउन सकिने प्रस्ताव अघि सारेको छ।
साञ्चोलाई म्यान्चेष्टर युनाईटेड लगायतका ईङ्लिस क्लबले अनुबन्धको प्रयास गरिरहेका छन्।
ईङ्ल्याण्डका फरवार्ड यस समर ट्रान्सफरमा सय मिलियन पाउण्डमा क्लब छाड्न सक्नेछन्।
जर्मनमा उत्कृष्ट सिजन बिताएका साञ्चोले यस सिजनमात्र १७ गोल गर्नुका साथै १९ गोलको अवसर सिर्जना गरेका थिए। सोही कारण डर्टमण्ड साञ्चोको तलबमा भारी रकम वृद्धि गर्दै बुन्डेशलिगामै राख्न चाहेको हो।
म्यान्चेष्टर सिटीको एकेडेमीका खेलाडी साञ्चो विश्व फुटबलमा उदयमान युवा खेलाडीको रुपमा उदाएका छन्।
सोही कारण डर्टमण्ड क्लब साञ्चोलाई गुमाउन चाहदैन। उसले साञ्चोका तलब प्रति सिजन ५ दशमलव २ मिलियन पाउण्डबाट बढाएर ८ दशमलव ७ मिलियन पाउण्ड बनाउने प्रस्ताव अघि सारेको छ।
जसले साञ्चोलाई क्लबमा सर्वाधिक दोस्रो धेरै तलब बुझ्ने खेलाडी बनाउनेछ। कप्तान मार्कोस रिउसले सिजनको ९ दशमलव ६ मिलियन तलब बुझ्दै आएका थिए।
ईङ्ल्याण्डका खेलाडीले गत बर्ष क्लबसंग नयाँ सम्झौता गर्दै सन् २०२२ सम्म डर्टमण्डमै बस्ने बताएका थिए।
डर्टमण्डका सीईओ हेन्स जोआचिम वत्जकेले पछिल्लो महिना एक अन्तरवार्तामा कोरोना भाईरसको प्रकोप अगाडी समेत साञ्चोलाई क्लबमै राख्न आफुहरुले जोड गर्ने बताएका थिए।
‘कोरोनाको प्रकोप अगाडी समेत हामी साञ्चोलाई क्लबमै राख्न ईच्छा गरेको थियौ।’ उनले भनेका थिए, ‘तर दिनको अन्तिममा खेलाडीले जे चाहन्छ, त्यसको सम्मान गर्नुपर्छ।’ एजेन्सी


























