काठमाडौं, बैशाख ४ । दूरसञ्चार सेवा प्रदायक कम्पनी एनसेलले पनि कोरोना भाइरसको संक्रमितहरुको सर्बेक्षण सुरु गरेको छ।
एनसेलले कोभिड–१९ संकट व्यवस्थापन केन्द्र (सीसीएमसी) सँगको सहकार्यमा सरकारलाई कोरोना भाइरस संक्रमितहरुको पहिचानमा सहयोग पुर्याउँन बुधवार (वैशाख ३) देखि यूएसएसडी माध्यमबाट सर्वेक्षण शुरु गरेको हो।
उक्त सर्वेक्षणमा एनसेलका ग्राहक तथा सर्वेक्षणमा भाग लिने व्यक्तिले यूएसएसडी कोड एस्ट्रिक्स १७१०० ह्यास डायल गरी कोरोना भाइरस रोगसँग सम्बन्धित पाँच वटा प्रश्नहरुको जवाफ आफ्नो स्वास्थ्य स्थिती अनुसार १ वा २ विकल्प छानेर दिन सक्नेछन्।
प्रश्नहरुको उत्तर दिएपछि यो सर्वेक्षणमा भाग लिएको व्यक्तिलाई तत्काल उसको स्वास्थ्यको अवस्थालाई मिल्ने सुझाव सहित सरकारले तोकेको हेल्पलाइन नम्बरहरु र एनसेलको हटलाइन नम्बर ९८०१५७५००५ उल्लेख भएको एसएमएस प्राप्त हुन्छ।
हटलाइन नम्बरमा कोरोना भाइरस सम्बन्धि चिकित्सकसँग निःशुल्क परामर्श लिन सकिन्छ।


























