काठमाडौं, बैशाख ३ । सरकारले देवी ज्ञवालीलाई भूमिसम्बन्धी समस्या समाधान आयोग–२०७६ को अध्यक्ष पदमा नियुक्त गरेको छ।
मन्त्रिपरिषद्को मंगलबार बसेको बैठकले ज्ञवालीलाई नियुक्त गरेको हो। अध्यक्षको सेवा सुविधा राज्यमन्त्री सरहको हुनेछ।
स्थानीय तहको निर्वाचनमा भरतपुर महानगरपालिका मेयर पदमा उमेदवार बनेका ज्ञवाली तत्कालीन माओवादी केन्द्रका तर्फबाट उमेदवार बनेकी रेणु दाहालसँग पराजित भएका हुन्।
संयोगले दुवै सत्तारूढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को केन्द्रीय सदस्य छन्।
भरतपुरको १९ नम्बर वडामा मतपत्र च्यातिएपछि दोहोर्याएर चुनाव गर्नुपरेको थियो। त्यसपछि पार्टी एकता हुँदा ज्ञवालीलाई केन्द्रीय सदस्य बनाइएको थियो।
मन्त्रिपरिषद्को मंगलबारको बैठकले पोखराका भीमबहादुर कार्की, सिन्धुपाल्चोकका जगत देउजा, ललितपुरकी मञ्जली शाक्य र बाँकेका दीनेशचन्द्र यादवलाई सदस्य नियुक्त गरेको छ।
उनीहरूको सेवा–सुविधा नेपाल सरकारको विशिष्ट श्रेणीको कर्मचारी (सचिव) सरह हुनेछ।
भूमिसम्बन्धी ऐन (आठौं संशोधन)–२०७६ अन्तर्गत आयोगको गठन भएको भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री पद्मा अर्यालकी प्रेस संयोजक देविका घर्तीले जानकारी दिइन्।


























