बैशाख, ३ । विश्वभर कोरोना भाइरस संक्रमितको संख्या २० लाख नाघेको छ। साढे तीन महिनाको अवधिमा कोरोना भाइरस संक्रमितको संख्या २० लाख नाघेको हो।
वर्ल्डोमिटर्सको पछिल्लो तथ्याङ्कअनुसार बुधबार मध्यान्ह्र विश्वमा कोरोना भाइरस संक्रमितको संख्या २० लाख ९ सय ३३ पुगेको छ। पछिल्लो साढे तीन महिनाको अवधिमा कोरोना भाइरसबाट विश्वमा १ लाख २६ हजार ७ सय ६९ जनाको मृत्यु भएको छ।
कोरोना भाइरस पहिला पटक सन् २०१९ डिसेम्बर अन्तिम साता चीनको उहानमा देखिएको थियो। यो भाइरस अहिले विश्वका २ सय १० देश तथा क्षेत्रमा फैलिएको छ। नेपालमा हालसम्म कारोना भाइरसका बिरामी १६ जना भेटिएका छन्। यीमध्ये एक जनालाई निको भइसकेको छ भने बाँकीको उपचार भइरहेको छ।
कोरोना भाइरसका कूल संक्रमित मध्ये ४ लाख ८४ हजार ९ सय ४५ जनालाई उपचारपछि निको भइसकेको छ। अहिले विश्वभर १३ लाख ८८ हजार ८ सय १९ जना कोरोना भाइरसका संक्रमित उपचारत छन्। उपचारतमध्ये ५१ हजार ६ सय ३ जनाको अवस्था गम्भीर र १३ लाख ३७ हजार २ सय १६ जनाको अवस्था सामान्य रहेको छ।
कोरोना भाइरसका सबैभन्दा बढी संक्रमित अमेरिका रहेका छन् भने मृत्यु हुनेको सबैभन्दा ठूलौ संख्या पनि अमेरिकामा नै रहेको छ। अमेरिकाम हालसम्म ६ लाख १४ हजार २ सय ४६ जनामा कोरोना संक्रमण भएको पाइएको छ, जसमध्ये २६ हजार ६४ जनाको मृत्यु भइसकेको छ।
स्पेनामा १ लाख ७४ हजार ६० जना कोरोना संक्रमित रहेकोमा १८ हजार २ सय ५५ जनाको मृत्यु भएको छ। इटालीमा कोरोना भाइरस संक्रमितको संख्या १ लाख ६२ हजार ४ सय ८८ रहेको छ। यीमध्ये २१ हजार ६७ जनाको मृत्यु भएको छ।
फ्रान्समा १ लाख ४३ हजार ३ सय ३ जना कोरोना भाइरस संक्रमित रहेकोमा हालसम्म १५ हजार ७ सय २९ जनाको मृत्यु भएको छ। जर्मनीमा १ लाख ३२ हजार २ सय १० जनामा कोरोना देखिएको छ, जसमध्ये ३ हजार ४ सय ९५ जनाको मृत्यु भएको छ।
बेलायतमा कोरोना भाइरस संक्रमितको संख्या ९३ हजार ८ सय ७३ जना पुगेको छ। यीमध्ये १२ हजार १ सय ७ जनाको मृत्यु भएको छ। चीनमा ८२ हजार २ सय ९५ जनामा कोरोनाको संक्रमण भएको पुष्टि भएको छ, जसमध्ये ३ हजार ३ सयउ ४२ जनाले ज्यान गुमाइसकेका छन्।


























