काठमाडौं, चैत्र २८ । स्वास्थ्य मन्त्रालयका प्रवक्ता डाक्टर विकास देवकोटाले चिकित्सा तथा स्वास्थ्यकर्मीहरूको तलब कट्टी गरेर कोरोना नियन्त्रण तथा रोकथाम कोषमा नराखिएको प्रष्ट पारेका छन्।
शुक्रवार स्वास्थ्य मन्त्रालयको तर्फबाट नियमित मिडिया ब्रिफिङमा बोल्दै डाक्टर देवकोटाले गत ११ गते बसेको मन्त्रिपरिषद बैठकको निर्णय अनुसार सबै कर्मचारीहरूको ३ देखि ७ दिन बराबरको तलब कट्टी गरिएको भएतापनि स्वास्थ्यकर्मीहरूको तलब कट्टी नभएको बताएका हुन्।
‘स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको तर्फबाट चिकित्सक तथा स्वास्थ्यकर्मीको तलब कट्टी गर्न निर्देशन जारी गरिएको छैन,’ डाक्टर देवकोटाले भने, ‘उच्च मनोबलका साथ काम गर्न अनुरोध गर्दछौं।’
डाक्टर देवकोटाले अवकाशप्राप्त चिकित्सक र स्वास्थ्यकर्मीहरूलाई स्वेच्छिक रूपमा सेवामा आउन अनुरोध गरिएको बताए। त्यस्तै सरकारी छात्रवृत्तिमा अध्ययनरत चिकित्सकहरूलाई पनि परिचालन गर्ने निर्णय गरिएको उनको भनाइ छ।


























