काठमाडौँ, चैत्र २६ । कैलालीको गोदावरी नगरपालिका–१० का वडाअध्यक्ष हतियारसहित पक्राउ परेका छन्। दुई थान हतियार र ८२ हजार नगदसहित वडाअध्यक्ष रवीन्द्र शाही गड्डु पक्राउ परेका हुन्।
कञ्चनपुरको कृष्णपुर नगरपालिका– ४ र ५ को सीमानजिकै रोकिराखेको डीएल ३ सीसीआर ३९९७ भारतीय नम्बरको टोयोटा फरच्युन गाडीमा दुई थान बन्दुकसहित शाही पक्राउ परेका हुन्।
सशस्त्र प्रहरी बल ३५ नम्बर गण शैलेश्वरी कञ्चनपुरका अनुसार शाहीको साथबाट प्वाइन्ट टुटु एलआर एक थान, त्यसमा लाग्ने गोली १४ थान तथा एयर गन १ थान र त्यसको छर्रा १९६ थान बरामद भएको छ।
कञ्चनपुरका सशस्त्र प्रहरी उपरीक्षक वीरबहादुर साउदले सो गाडीबाट नेपाली १ हजार दरका ७१ हजार र ५ सयको नोट ५ हजार ५ सय रुपैयाँ समेत बरामद भएको जानकारी दिए।
त्यस्तै मेगा बैंकको एटीएम कार्ड एउटा, हिमालयन बैंकको एटीएम कार्ड एउटा, एनआईसी एसिया बैंकको एटीएम कार्ड २ वटा, गरिमा विकास बैंकको एटीएम कार्ड एउटा, आर इन्डियन बैंकको एटीएम कार्ड समेत बरामद भएको छ।


























