काठमाडौं, चैत्र २३ । कांग्रेस सहमहामन्त्री डा. प्रकाशशरण महतले आफूले मध्यावधि निर्वाचनको माग नगरेको प्रष्टीकरण दिएका छन्। आइतबार विज्ञप्तिमार्फत् उनले आफूले बोलेको कुरालाई तोडमोड गरेर एउटा अनलाइनमा मध्यावधि निर्वाचनको माग गरेको भनी प्रचार गरिएकोमा आपत्ति जनाए।
‘उक्त अन्तर्वार्ताको मूल आशय यो सरकार देशमा कोरोनाको कारण सिर्जना भएको विषम परिस्थितिमा पनि जनताको सुरक्षामा भन्दा व्यापक अनियमिततामा लिप्त भएको भन्ने विषय रहेको थियो,’ महतले भने, ‘अन्तर्वार्ताका क्रममा मैले कोरोना संक्रमण सकिएपछि कस्ताकस्ता अवस्था आउन सक्छन् भन्ने विषयबारे गरेको विश्लेषणलाई बंग्याएर हेडलाइनमै मध्यावधि निर्वाचन चाहियो भनेर प्रचार हुँदा दुःख लागेको छ।’
उनले कोरोनाको संक्रमणबाट पार लगाउन सरकार थप गम्भीर बन्नुपर्नेमा जोड दिँदै कोरोनाको संक्रमण फैलिन नदिन कांग्रेसले पनि सरकारलाई रचनात्मक सहयोग गर्दै आएको बताए। ‘अहिले लकडाउनका बेला सबैले एकअर्कालाई सघाउने समय भएको मलाई ज्ञात रहेको जानकारी गराउँछु,’ विज्ञप्तिमा भनिएको छ, ‘साथै, यस्ता अफवाहका पछाडि नलागेर सत्यतथ्यका आधारमा मात्रै धारणा बनाइदिन अनुरोध गर्दछु।’


























