काठमाडौं, चैत्र २३ । लकडाउनका कारण मानिसहरू घरभित्रै बस्न बाध्य भएपछि उनीहरूले अधिकांश समय मोबाइल फोन र इन्टरनेटमा बिताउन थालेका छन्। त्यहीकारण टेलिकम्युनिकेसन कम्पनीहरूको नेटवर्कको प्रयोग सामान्य अवस्थामा भन्दा ४० प्रतिशतसम्मले बढेको छ।
नेपाल टेलिकममा मोबाइल डेटा ट्राफिक ४० प्रतिशतले बढेको टेलिकमका प्रबन्ध निर्देशक डिल्ली अधिकारीले बताए। तर, टेलिकमको भ्वाइस सेवा प्रयोग गर्नेको संख्या भने १५ प्रतिशतले घटेको छ।
त्यसैगरी, नेपाल टेलिकमको वायर सर्भिस इन्टरनेट नेटवर्कको प्रयोग पनि ४० प्रतिशतले बढेको अधिकारीले बताए। नेपाल टेलिकमले फाइबर टू दी होम (एफटीटीएच) र एडिएसएलमार्फत् इन्टरनेट सेवा वितरण गर्दै आएको छ।
निजी क्षेत्रको दूरसञ्चार कम्पनी एनसेलको तथ्यांक पनि उस्तै छ। एनसेलको नेटवर्कको उपयोग गत एक सातामा करिब ४० प्रतिशतले बढेको छ। एनसेलको नेटवर्कबाट दैनिक डेटा प्रयोग गर्नेको संख्या भने ३४ प्रतिशतले बढेको छ।
नेटवर्ककको प्रयोग बढे पनि आम्दानी भने नबढ्ने दूरसञ्चार कम्पनीहरूले बताएका छन्। सरकारले इन्टरनेट शूल्कमा २५ प्रतिशत छुट दिन इन्टरनेट सेवा प्रदायकहरूलाई निर्देशन दिएको छ। त्यसैअनुसार, नेपाल टेलिकम र एनसेलले डेटा प्रयोगमा २५ प्रतिशत छुटको अफर सार्वजनिक गरिसकेका छन्।
नेपाल टेलिकमका प्रबन्ध निर्देशक अधिकारी भन्छन्, “मानिसहरू घर बस्नुपर्ने भएकाले इन्टरनेटको सुविधा दिन टपअपमा बोनस दिने स्किम ल्याएका छौं। यसमा सय रूपैयाँ टपअप गर्दा सय रूपैयाँ नै बोनस पाउँछन्। दुई सय रूपैयाँमा हुने काम एक सयमा नै हुने भयो। यस्तै कारणले टेलिकम कम्पनीको आम्दानी बढ्दैन।”
एनसेलका एक अधिकारी पनि नेटवर्कको उपयोग बढ्दैमा कम्पनीको आम्दानी नबढ्ने बताउँछन्। उनले भने, “एनसेलले जति धेरै डेटा प्रयोग गर्यो त्यति नै सस्तो पर्ने गरी स्किम ल्याएको छ। घरमा बसेका मानिसलाई इन्टरनेटको प्रयोग सहज र सस्तो होस भनेर नै यसो गरिएको हो। यसो हुँदा डेटामा कम्पनीको लगात बढ्छ। नाफा हुँदैन।”
सन् २०१९ मा मात्रै एनसेलको नेटवर्कबाट नौ करोड चालिस लाख जिबी डेटा प्रयोग भएको तथ्यांक एनसेलको मातृ कम्पनी आजियटाले प्रकाशन गरेको छ। त्यसैगरी, एनसेलका एकजना ग्राहकले प्रतिमहीना औषतमा ९६३ जिबी डेटा प्रयोग गर्ने गरेको आजियटाको तथ्यांक छ।
नेपाल दूरसञ्चार र प्राधिकरणका अनुसार, एनसेलको नेटवर्क प्रयोग गरेर मोबाइल ब्रोडव्याण्ड प्रयोग गर्ने ग्राहकको संख्या ६९ लाख ८८ हजार २४९ रहेको छ।
त्यसैगरी, नेपाल टेलिकमको मोबाइल ब्रोडव्याण्ड प्रयोग गर्ने संख्या ९३ लाख २३ हजार ८९२ रहेको छ। यसबाहेक, नेपाल टेलिकमको तारयुक्त (फिक्स्ड) ब्रोडबयाण्ड प्रयोग गर्नेको संख्या १० लाख २६ हजार १३६ रहेको छ। तार रहितको ब्रोडब्याण्ड प्रयोग गर्नेको संख्या भने ८९ हजार ४९९ रहेको छ।
देशभरको कूल जनसंख्याको ७२.४२ प्रतिशतले इन्टरनेट प्रयोग गर्ने गरेको नेपाल दूरसञ्चार प्राधिकरणको तथ्यांक छ।
त्यसैगरी, निजी क्षेत्रका इन्टरनेट सेवाप्रदायक कम्पनीहरूले दिने इन्टरनेटको अन्तर्राष्ट्रिय व्याण्डवीथमा एक सय गिगाबाइट बढेको इन्टरनेट सेवाप्रदायक संघका अध्यक्ष भोजराज भट्टले बताए।