काठमाडौं, चैत्र २२ । प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसको विद्यार्थी भ्रातृ संगठन नेपाल विद्यार्थी संघले नेपाली जनता कोरोना महामारीको सन्त्रास रहेको फाइदा उठाउँदै स्वास्थ्य उपकरण खरिदमा अनियमितता गर्ने स्वास्थ्यमन्त्रीलाई बर्खास्त गरी छानबिन गर्न माग गरेको छ।
संघले भनेको छ, ‘गम्भीर विपत्तिको यस क्षणलाई कसैले पनि आर्थिक लाभ गर्ने समयका रुपमा लिन्छ भने त्यो अपराध हो। मौकाको फाइदा उठाउने दाउमछा कोही छ भने नेपाली जनताले त्यसलाई छाड्ने छैनन्।’
संघले विज्ञप्ति जारी गर्दै विश्व स्वास्थ्य संगठनले तीन महिनाअघि नै संक्रमणविरुद्धमा जुट्न गरिएको आह्वानलाई सरकारले अटेर गरेको आरोप लगाएको छ। स्वास्थ्य उपकरण खरिदमा तीन घण्टामात्र समय राखेर बोलपत्र आह्वान गर्नु, बजार मूल्यभन्दा अस्वाभाविक रुपमा बढी मूल्यमा सामान किन्नु र गुणस्तरहीन सामान खरिद गर्नुले अनियमितता पुष्टि भएको संघको ठहर छ।
विज्ञप्तिमा भनिएको छ, ‘विपत्तिको यस क्षणमा अक्षम्य कार्य गर्ने जोकेहीलाई पनि कारबाहीको दायरामा ल्याइयोस्।’
संघका महामन्त्री बलदेव तिमल्सिनाले स्वास्थ्य उपकरण खरिदमा संलग्न सरकारी निकायका उच्च अधिकारीसहित स्वास्थ्यमन्त्री भानुभक्त ढकाललाई तत्काल बर्खास्त गरी छानबिन गर्नुपर्ने बताए।


























