काठमाडौं, चैत्र १९ । नेपाल ट्रेड युनियन कांग्रेसले कोरोना भाईरस रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समिति संयोजक एवं उपप्रधानमन्त्री ईश्वर पोखरेलको ध्यानाकर्षण गराएका छन्।
ट्रेड युनियन कांग्रेसले मंगलबार विज्ञप्ति जारी गर्दै संयोजकको ध्यानाकर्षण गराएका हुन्। महासचिव योगेन्द्र कुवरद्दारा हस्ताक्षरित ध्यानाकर्षण पत्रमा भनिएको छ,‘ कोरोना भाईरस संक्रमण फैलिएको लामो समय भईसक्दा पनि केवल हजार जनाको मात्र परिक्षण हुनु सरकार वर्तमान संकट र समस्याप्रती संवेदनशिल नभएको देखिएकोले तत्काल परिक्षणको दायरा बढाउने व्यवस्था गर्नु पर्छ।’
यसैगरी विश्व स्वास्थ्य संगठनको मापदण्ड अनुरुपको पिपिईको व्यवस्था गरि प्रत्येक जिल्लाबाट कोरोना परिक्षण तथा उपचार सेवा तत्काल विस्तार गर्नु पर्ने, स्थानीय तहसंग समन्वय गरि ट्रेड युनियनलाई समेत प्रतिनिधित्व गराई श्रमिकको अभिलेख तयार गरि दैनिक ज्यालादारी मजदुरलाई लकडाउन अवधिभर दैनिक न्युनतम पारिश्रमिक दिनु पर्ने, सरकारले स्वास्थ्यकर्मीकालागी घोषणा गरेको बिमा रकमलाई बढाउनुकासाथै दायरा बढाउनु पर्ने, कामदार,कर्मचारीलाई पारिश्रमिक दिनु पर्ने,वैदेशिक रोजगारीमा रहेका श्रमिकहरु स्वदेश आउन चाहेमा उद्दार गर्नु पर्ने ,लकडाउनका कारण अप्ठ्यारोमा रहेका श्रमिकहरुलाई सुरक्षीत तवरले आफ्नो गन्तव्यसम्म पुर्याउने व्यवस्था तत्काल गर्नु पर्ने र लकडाउन अवधिभर श्रमिक तथा स्वरोजगारीहरुलाई प्रभावकारीरुपमा घर भाडा मिनाहा गर्नु पर्ने उल्लेख गरेका छन्।