चितवन, चैत्र १६ । पूर्वी चितवनका चार नगरपालिकाले कोरोना भाइरसको सङ्क्रमण नियन्त्रण र राहतका लागि कोष खडा गरेका छन्। चार नगरपालिकाका प्रमुखको उपस्थितिमा शनिबार सम्पन्न बैठकले सम्भावित प्रकोप व्यवस्थापनका लागि रु ८० लाखको कोषसमेत खडा गरेको छ। प्रत्येक नगरपालिकाले कोषमा रु २० लाख जम्मा गर्नेछन्।
बैठकले रत्ननगर नगरपालिका प्रमुख नारायण वनको संयोजकत्वमा खैरहनी नगरप्रमुख लालमणि चौधरी, कालिका नगरपालिका प्रमुख खुमनारायण श्रेष्ठ र राप्ती नगरपालिका प्रमुख प्रभा बराल सदस्य तथा रत्ननगर नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत टुवराज पोखरेल सदस्यसचिव रहेको एक समिति गठन गरेको हो।
सो समितिले कोरोना भाइरसको सङ्क्रमण नियन्त्रण, राहत वितरणलगायत अन्य व्यवस्थापनको काम गर्ने समितिका संयोजक वनले बताए। सोही समितिमार्फत राहत वितरण तथा स्वास्थ्य सामग्री खरिदको काम एकद्धार प्रणालीबाट गरिनेछ।
बैठकले स्वास्थ्यकर्मी र सुरक्षाकर्मीको मनोवल उच्च राख्न आवश्यक सामग्री खरिद गरी सहयोग गर्ने समेत निर्णय गरेको । प्रतिनिधिसभा सदस्य सुरेन्द्र पाण्डे, वाग्मती भूमी व्यवस्था, कृषि तथा सहकारीमन्त्री दावादोर्जे लामा, प्रदेशसभा सदस्य कृष्णप्रसाद खनाल र कञ्चन खनाललाई सो समितिको सल्लाहकार राखिएको छ। बैठकमा नेपाल कम्युनिष्ट पार्टी (नेकपा) रत्ननगरका अध्यक्ष कुलप्रसाद लामिछाने, नेपाली काँग्रेस रत्ननगर सभापति रुपनराज घिमिरे, चार नगरका केही वडाध्यक्षको सहभागिता थियो।


























