काठमाडौं, चैत्र १६ । अज्ञात समूहको कुटपिटबाट जाजरकोटको छेडागाड नगरपालिका-११ का वडाध्यक्ष चक्रबहादुर सिंह गम्भीर घाइते भएका छन्।
सिंहलाई १५ चैत राति ९ बजेतिर छेडागाड नगरपालिका–११ फुम्नाको औंलाकाटिया भन्ने स्थानमा अपहरण शैलीमा निर्घात कुटपिट गर्दा उनको एउटा खुट्टा भाँचिएको छ। टाउको र हातमा गम्भीर चोट लागेको परिवारका सदस्यले बताएका छन्।
जाजरकोटका प्रहरी प्रमुख, डिएसपी किशोरकुमार श्रेष्ठले घाइते सिंहको आज बिहान उद्धार गरी उपचारका लागि नेपालगञ्जतर्फ पठाइएको बताए।
नेपाल कम्युनिष्ट पार्टी (नेकपा) जाजरकोटका सचिवालय सदस्य समेत रहेका सिंहले आफू घर फर्किँदै गर्दा बाटोमा कुटपिट गरेर भीरबाट खसालेको प्रहरीसमक्ष बताएका छन्। राति अबेर भएकाले आक्रमणमा संलग्नको अनुहार पहिचान गर्न नसकेको सिंहले बताएका छन्।
नेकपाका केन्द्रीय सदस्य निरज आचार्यले घटनामा संलग्नलाई तत्काल पहिचान गरी कानूनी कारबाही गर्न माग गरेका छन्।
“उक्त आपराधिक घटनाको घोर निन्दा र भर्त्सना गर्दछु, अपराधीहरूलाई अबिलम्व गिरफ्तार गरी कडाभन्दा कडा सजाय गर्न स्थानीय प्रशासनसँग माग गर्दछु”, आचार्यले भनेका छन्।
छेडागाड नपरपालिकाका मेयर लालबहादुर महताराले पनि घटनाको भर्त्सना गर्दै तत्काल छानबिन गर्न माग गरेका छन्।
“कसले कुन उद्देश्यले घटना घटायो भन्ने थाहा हुन सकेको छैन, ५/७ जनाले अपहरण शैलीमा लिएर कुटपिट गरेर भीरबाट खसालेको भन्ने आएको छ। तत्काल छानबिन गरी संलग्नलाई कारबाही गरियोस्”, उनले भने।