काठमाडौं, चैत्र १४ । प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसका प्रवक्ता विश्वप्रकाश शर्माले कोरोनाविरूद्धको लडाइँमा सरकारलाई साथ रहेको बताएका छन्।
आफूहरू सरकारमा नभए पनि महामारीविरूद्धको लडाइँ सरकारसँगै लड्न सकिने उनले उल्लेख गरेका हुन्।
शुक्रबार ट्वीट गर्दै प्रवक्ता शर्माले महामारीविरूद्ध लड्नु साझा संघर्ष हुने पनि बताए। ‘सरकारमा सँगै नभएर पनि सँगै लड्न सकिन्छ। यो हामी सबैको साझा संघर्ष हो,’ शर्माले भनेका छन्, ‘सरकारलाई हामीले बल दिने र सरकारले युद्धस्तरमा क्षमता देखाउने बेला हो यो।’
उनले ठूलो क्षतिको साइरन बजिसकेको संकेत गर्दै गम्भीर भएर काम गर्न सरकारलाई आग्रह गरेका छन्। ‘यो युद्ध तब जितिने छ, नत्र ठूलो क्षतिको साइरन बजिसकेको छ। कसले कति गम्भीर भएर सुन्यो त्यो अलग कुरा हो,’ शर्माले भनेका छन्।
कोरोनाभाइरसका नेपालमा अहिलेसम्म दुई जना विरामी पहिचान भएका छन्। उनीहरूको टेकुस्थित अस्पतालमा उपचार जारी छ। कोरोना थप नफैलियोस् भनेर सरकारले चैत १८ गतेसम्म लकडाउन गरेको छ।


























