चितवन, चैत्र १३ । दैनिक ज्यालादारी गरी जीविकोपार्जन गर्नेहरूलाई उद्योग वाणिज्य संघ चितवनले खाद्यान्न वितरण गर्ने भएको छ। कोरोना भाइरस (कोभिड–१९) संक्रमणको त्रासपछि सरकारले घोषणा गरेको लकडाउनबाट सबैभन्दा बढी दैनिक ज्यालादारी गरी खानेहरु प्रभावित भएको भन्दै संघले खाद्यान्न वितरण गर्न लागेको हो।
उद्योग वाणिज्य संघ चितवनका अध्यक्ष राजु श्रेष्ठका अनुसार जिल्लाभित्र ज्याला मजदुरी गरी दैनिकी चलाउँदै आएका तर अहिलेको लकडाउनका कारण मारमा परेकाहरूलाई पहिलो चरणमा एक हप्ता पुग्ने गरी सहयोग गर्ने निर्णय भएको हाे। उनका अनुसार ‘प्रति परिवार पाँच के.जी. चामल, डेढ केजी दाल, आधा लिटर तोरीको तेल, दुई के.जी. प्याज, तिन के.जी. आलु, एक के.जी. चिनी र २ के.जी. चिउरा वितरण गरिनेछ।’
उद्योग वाणिज्य संघ चितवनकै कार्यलयमा शुक्रवार बिहान ८ बजे बाट खाद्यान्न वितरण हुने छ। जसको लागि अहिले नगर प्रहरीको गडीमा माईकीङ्गको काम समेत भइरहेको अध्यक्ष श्रेष्ठले बताए। यस अघि पनि उद्योग वाणिज्य संघ चितवनले भरतपुर महानगरपालिकामा निर्माण भएको ७० बेडको कोरोना विशेष (अस्थायी) अस्पतालमा का बेडहरुका लागि आवश्य सामाग्री उपलब्ध गराएको थियो।


























