काठमाडौं, चैत्र १० । सार्वजनिक बसको टिकट बढी मूल्यमा बेचेको अभियोगमा २० जनालाई प्रहरीले पक्राउ गरेको छ।
यात्रुको चाप बढेको मौका पारेर तोकिएभन्दा बढी मूल्यमा बसको टिकट विक्री गरेको भनि ट्राफिक प्रहरीको हटलाइन नम्बर १०३ मा आएको गुनासोका आधारमा सहज र सुरक्षित यात्राका लागि महानगरीय ट्राफिक प्रहरी महाशाखाले यात्रु बनेर स्टिङ अपरेशन चलाएको थियो। सोही क्रममा आइतबार २० जनालाई पक्राउ गरिएको महाशाखाले जनाएको छ।
महाशाखाका अनुसार रुपेश कार्की, देवेन्द्र कार्की, सन्तोष श्रेष्ठ, गोविन्द बुढाथोकी, कमल गुरुङ, लालबहादुर भुजेल, रोशन राणा कुँवर, कर्ण थिङ, आकाश लामा, शुक्र लामा, तिलक लामा, गौतम तामाङ पक्राउ परेका हुन्।
महानगरीय ट्राफिक प्रहरी महाशाखाका अनुसार सुदर्शन रसाइली, दिनेश शाह, जयन्द्र कुमार शाही, कृष्ण पराजुली, पारस गौतम, सुरेश क्षेत्री, संजय उप्रेती, मानसिंह रुम्बा पनि पक्राउ परेका छन्।
उनीहलाई नयाँ बसपार्क, कोटेश्वर, बल्खु, चावहिल र गौशालाबाट नियन्त्रणमा लिएको महानगरीय ट्राफिक प्रहरी महाशाखाका प्रवक्ता एवं प्रहरी उपरीक्षक जीवनकुमार श्रेष्ठले जानकारी दिए।