काठमाडौं, चैत्र ९ । प्रधानमन्त्री केपी शर्मा ओली र राष्ट्रपति विद्यादेवी भण्डारीबीच भेटवार्ता भएको छ।
कोरोनाभाइरस रोकथाम र नियन्त्रणका लागि सरकारले गरिरहेका काम र सङ्क्रण फैलन नदिन गरेको तयारीको जानकारी गराउन प्रधानमन्त्री शीतल निवास पुगेको बताइएको छ।
यद्यपि, प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले नियमित भेटघाट भएको बताए।
“राष्ट्रपतिलाई भेटेर अवगत गराउनुपर्ने प्रधानमन्त्रीको संवैधानिक दायित्व हुन्छ। त्यही सिलसिलामा शीतल निवास जानुभएको हो,” उनले भने।
राष्ट्रपति भेट्न १२ बजे शीतल निवास पुगेका प्रधानमन्त्री झण्डै २ घण्टा बसेर फर्किएका थिए। मिर्गौला प्रत्यारोपणपछि प्रधानमन्त्री ओलीले पहिलोपल्ट राष्ट्रपतिसँग भेटवार्ता गरेका हुन्। भेटवार्ताका क्रममा राष्ट्रपति भण्डारीले प्रधानमन्त्रीको स्वास्थ्य अवस्थाको पनि जानकारी लिएकी थिइन्।
यसअघि एपेन्डिसाइटिसको शल्यक्रिया हुँदा अस्पताल पुगेर स्वास्थ्य अवस्था बुझेकी भण्डारी मिर्गौला प्रत्यारोपणका बेला भने गएकी थिइनन्।
कोरोनाको विश्वव्यापी संक्रमण फैलिएपछि र नेपालमा समेत जोखिम बढेपछि प्रधानमन्त्रीले सक्रियता ह्वात्तै बढाएका छन्। प्रधानमन्त्रीले आइतबार नै मन्त्रिपरिषद् बैठक पनि आह्वान गरेका छन्।

























