तनहुँ, चैत्र ९ । पृथ्वीराजमार्गअन्तर्गत तनहुँको व्यास नगरपालिका–१२ घाँसीकुवामा आज बिहान बस दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ। मृत्यु हुनेमा गोरखा नगरपालिका घर भई हाल तनहुँको शुक्लागण्डकी नगरपालिका–२ बस्ने २५ वर्षीया शर्मिला ठकुरी रहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ।
मुग्लिङदेखि पोखरातर्फ आउँदै गरेको ग १ ख ४९०० नं को बस सडकमा पल्टिँदा च्यापिएर ठकुरीको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक लीलाराज लामिछानेले जानकारी दिए। “अगाडिको सिटमा बसेकी युवती झ्यालको शिशा फुटेर बसबाट खसेको र सोही बसले च्यापिएर मृत्यु भएको रहेछ”, उनले बताए।
दुर्घटनामा बसमा सवार १८ जना घाइते भएका छन्। घाइतेमध्ये दुई जनालाई थप उपचारका लागि पोखरा र एक जनालाई काठमाडौँ पठाइएको छ भने अन्य घाइतेको अवस्था सामान्य रहेको प्रहरीले जनाएको छ। रासस

























