काठमाडौं, चैत्र ८ । नेपाल र भारतले सबै नाका बन्द गर्ने तयारी गरेका छन्। करिब १८ सय किलोमिटर सीमा–नाका अघोषित रूपमा बन्द गर्ने तयारी गरिएको हो। सरकारले सबै सीमा नाका कम्तीमा दुई साता बन्द गर्ने तयारी गरेको हो। आपूर्ति नरोक्ने तर मानिसको आवतजावत बन्द गर्ने तयारी छ।
एक सातायता भएका विभिन्न छलफलपछि दुई सरकार सीमा–नाका बन्द गर्ने निष्कर्षमा पुगेका हुुन्। आज साँझ ५ बजे बस्ने कोभिड १९ रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समन्वय समितिको बैठकले कहिलेसम्म बन्द गर्ने भन्ने निर्णय गर्ने बताइएको छ।
खुला र जोडिएका बस्ती मात्र नभएर भारतबाट नेपाल आउने आपूर्तिमा पर्ने असर र भारतबाट अहिले धमाधम स्वदेश फर्किरहेका नेपालीको अवस्थालाई ध्यानमा राख्दै निश्चित समय निर्धारण गरेर निर्णय गर्ने तयारी छ।
खुला तथा घर–बस्ती जोडिएको सीमा भएकाले पूर्ण रूपमा घोषित बन्द गर्न नसकिने, तर स्वास्थ्य सुविधा स्तरोन्नति गर्दै र चरणबद्ध रूपमा नियन्त्रणका उपायसहित बन्द गर्ने तयारी सरकारको छ।
पेट्रोलियम पदार्थ, ग्यास, औषधि, खाद्यपदार्थजस्ता अत्यावश्यक सामग्रीको आपूर्ति निरन्तर हुने सर्तमा एउटा समयसीमा राखेर सीमामा आवतजावत बन्द गर्ने तयारी गरिएको हो। परिस्थितिको आकलन गर्दै यसबारे निर्णय गर्नेमा दुवै देशबीच सहमति दुई देशबीच भएको छ।


























