बैशाख ८ । भारतको महाराष्ट्रस्थित एक अस्पतालबाहिर अक्सिजन ग्यास चुहावट भएको छ। चुहावट भएपछि अक्सिजनको अभावमा कम्तिमा ११ जना कोरोना संक्रमितको ज्यान गएको छ।
बुधबार नाशिकमा अवस्थित डा। जाकिर हुसेन एनएमसी अस्पतालबाहिर अक्सिजन चुहावट भएको र चुहावटका कारण कम्तिमा ११ जना कोरोना संक्रमितको ज्यान गएको महाराष्ट्रका स्वास्थ्यमन्त्री राजेश टोेपेले बताएका छन्।
‘यो एउटा दुःखद घटना हो। प्रारम्भिक जानकारी अनुसार ११ मानिसको ज्यान गएको छ। हामीले पूर्ण विवरण प्राप्त गर्ने प्रयास गरिरहेका छौं’, टोपेले भने, ‘हामीले अनुसन्धान गर्न निर्देशन समेत दिएका छौं र जिम्मेवार व्यक्तिलाई कारबाही गरिने छ।’
‘नाशिकमा ट्याङ्करको टुटीबाट निकै धेरै अक्सिजन चुहावट भएको छ र यसबाट अस्पतालमा निकै ठूलो प्रभाव पर्ने छ’, उनले भने।
ट्याङ्करबाट अस्पतालमा पुनः अक्सिजन भर्ने क्रममा चुहावट भएको भारतीय समाचार माध्यमले जनाएका छन्। हाल चुहावटलाई नियन्त्रणमा लिइसकिएको बताइएको छ। चुहावट भएपछि झण्डै ३० मिनेटसम्म अक्सिजनको आपूर्ति बन्द हुन पुगेको थियो। तर एएनआईको ट्विटरमा राखिएको भिडियोमा अस्पतालमा प्रयोग गर्ने अक्सिजन वरपरको क्षेत्रमा फैलिरहेको देख्न सकिन्छ।
अक्सिजन चुहावट भएका बेला एनएमसी अस्पतालमा झण्डै १७१ जना बिरामी रहेको र २३ जनलाई अक्सिजन दिएररभेन्टिलेटरमा राखेर उपचार भइरहेको समेत समाचारमा उल्लेख गरिएको छ। यही भएर ज्यान गुमाउनेको संख्या बढ्न सक्ने बताइएको छ। एजेन्सी


























