दमौली, माघ १२ । नियमितरुपमा औषधि खाए पूर्णरुपमा निको हुने भए पनि कुष्ठरोगी अझै खुलेर बाहिर आउन सकेका छैनन्। समाजबाट अपहेलित हुने डरले कुष्ठरोगका बिरामी निर्धक्कसँग बाहिर आउन नसकेका हुन्।
पूर्वाग्राही शक्ति, कुशासन र विभेद्का कारण रोगी घृणित हुने गरेकाले कुष्ठरोगीलाई समाजमा खुल्ला वातावरण सिर्जना गर्नु अहिलेको मुख्य चुनौति रहेको जिल्ला स्वास्थ्य कार्यालय तनहुँका क्षयकुष्ठ अधिकृत रेकबहादुर थापाले बताए। “कुष्ठरोगीलाई समाजले हेर्ने दृष्टिकोण राम्रो छैन, जान्ने बुझ्ने मान्छेबाटै कुष्ठरोगी अपहेलित भइरहेको छन्,” उनले भने, “यसप्रति सकारात्मक सचेतना फैलाउन आवश्यक छ।”
कुष्ठरोगका बिरामीले आफ्नै घर नजिकको स्वास्थ्य संस्थामा पुगेर औषधि नखाई अन्यत्रैको स्वास्थ्य संस्थामा गएर औषधि सेवन गर्ने प्रचलन कायम रहेको उनले बताए। “नजिकको अस्पतालमा गएर औषधि सेवन गर्दा अरुले चिन्लान् भन्ने भय व्याप्त छ”, उनले भने, “त्यस्तो भयलाई हटाउन स्वास्थ्य कार्यालयले पनि कुष्ठरोगका बिरामीलाई सचेतना दिने गरेको छ।”
छ महिना र एक वर्षसम्म नियमित औषधि खाएपछि निको हुने भएकाले कुष्ठरोगीलाई ठूलो रोगका रुपमा लिननहुने स्वास्थ्य कार्यालयका प्रमुख शङ्करबाबु अधिकारीले बताए। “खुलेर आउन नसक्ने त्यस्ता बिरामीलाई अस्पतालसम्म पु¥याउने वातावरण सिर्जना गर्नुपर्छ,” अधिकारीले भने। उनका अनुसार कुष्ठरोगप्रतिको भ्रम र डरलाई हटाउन परिवार तथा समुदायमा रोगका बारेमा सही जानकारी दिने र प्रचारप्रसार अभियान सञ्चालन गरिएको छ।
तनहुँमा ११ कुष्ठरोगका बिरामी
जिल्लामा हाल एघार कुष्ठरोगका बिरामीले उपचार सेवा लिइरहेका छन्। गत आर्थिक वर्षमा १० कुष्ठरोगका बिरामी रहेकामा चालु आर्थिक वर्षमा दुई जना नयाँ बिरामी थपिएका क्षयकुष्ठ अधिकृत कृष्णप्रसाद पौडेलले जानकारी दिए। उनका अनुसार एक जना बिरामी भने नियमित औषधि सेवनपछि निको भएका छन्।
हाल व्यास नगरपालिकामा नौ, बन्दीपुर गाउँपालिका एक र शुक्लागण्डकी नगरपालिकामा एक जना सर्ने कुष्ठरोगका बिरामी छन्। जसमध्ये छ महिला र पाँच पुरुष रहेका कार्यालयले जनाएको छ। शुक्लागण्डकीका एक पुरुष भने औषधि सेवनपछि निको भएका छन्। सरकारले कुष्ठरोगमुक्त नेपाल बनाउने अभियान अन्तर्गत सबै जिल्लामा कुष्ठरोगको प्रकोप दरप्रति दश हजार जनसङ्ख्यामा एकभन्दा कम गर्ने लक्ष्य राखेको छ। आर्थिक वर्ष ०७५÷७६ मा नेपालमा तीन हजार २८२ कुष्ठरोगका नयाँ बिरामी फेला परेका थिए। त्यसमध्ये १४ वर्षमुनिका बिरामी ३३७ रहेका थिए। रासस