काठमाडौं, चैत्र ८ । नोवेल कोरोना (कोभिड–१९) भाइरसबारे सामाजिक सञ्जालमा भ्रम फैलाउने अडियोबारे नेपाल प्रहरीले अनुसन्धान सुरु गरेको छ।
प्रहरीको साइबर ब्यूरोले उक्त अडियोबारे अनुसन्धान थालेको हो।
सामाजिक सन्जाल फेसबुकको मेसेन्जरमा भाइरल सो अडियो सामाग्रीमा नर्भिक अस्पतालमा नौ जनालाई जाँच गर्दा ६ जनामा कोभिड १९ भाइरस देखिएको उल्लेख गरिएको छ। अहिलेसम्म नेपालमा कुनै पनि व्यक्तिमा कोरोना संक्रमणा भेटिएको छैन। तर सो अडियो सामाग्रीमा नेपालमा पनि कोभिड १९ फैलिसकेको भन्दै भ्रम फैलाइएको छ।
तर नर्भिक अस्पतालले सामाजिक सञ्जालमा भाइरल भएको अडियो सामाग्रीको खण्डन गरेको छ। अस्पतालका अध्यक्ष बसन्त चौधरीले शनिबार ट्वीट गर्दै यसको खण्डन गरेका हुन्। उनको ट्वीटमा लेखिएको छ–‘ यो अत्यन्तै भ्रामक न्यूज हो र नियतवस गरिएको हो। नर्भिकमा यस्ता कुनै पनि बिरामीहरु नभएको जानकारी गराउन चाहन्छु। यस विषयलाई हामिले साइबर क्राइम सेल तथा स्वास्थ्य मन्त्रालयमा जानकारी गराएका छौं। हामी सबैलाई भ्रममा नपर्न अनुरोध गर्दछौँ।’


























