काठमाडौँ, चैत्र ५ । सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को सचिवालय बैठक आज बस्दै छ।
प्रधानमन्त्री निवास बालुवाटारमा आज अपरान्ह ४ बजे बस्ने बैठकमा प्रधानमन्त्री केपी शर्मा ओली पनि सहभागि हुने भएका छन्। प्रधानमन्त्री ओली दोस्रो पटक मिर्गौला प्रत्यारोपणका लागि अस्पताल भर्ना हुनुअघि १८ फागुनमा बसेको बैठक दुई अध्यक्षबिचको छलफलपछि आज बस्ने भएको हो।
बैठक बोलाउन प्रधानमन्त्री ओली र अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबिच मङ्गलवार बालुवाटारमा छलफल भएको थियो। पार्टी एकताका बाँकी काम, उपाध्यक्ष बामदेव गौतमका सन्दर्भमा सचिवालयले गरेको निर्णय र कोरोना भाइरस सङ्क्रमणलगायत विषयमा अधयक्षद्वयबीच छलफल भएको थियो। उक्त छलफलपछि प्रधानमन्त्री ओलीको सल्लाह बमोजिम अर्का अध्यक्ष प्रचण्डले सचिवालय बैठक बोलाएका हुन्।
सचिवालय बैठकमा कोरोनाविरुद्ध एक जुट हुन कार्यकर्तालाई निर्देशन दिने, पार्टी एकताका बाँकी काम, उपाध्यक्ष गौतमका सन्दर्भमा आजको सचिवालय बैठक केन्द्रित हुने बताइएको छ।
नेकपामा एमसीसी अनुमोदन र वामदेव गौतमलाई राष्ट्रिय सभामा लैजाने नलैजाने भन्ने बारेमा दुई अध्यक्षको मतभेद रहेको छ। अध्यक्ष ओली वामदेव गौतमलाई राष्ट्रिय सभामा मनोनित नगर्ने पक्षमा छन्। प्रधानमन्त्री ओलीले नेकपा सचिवालय बैठकले गरेको निर्णय मान्दिन भनेर सार्वजनिक रुपमा भनेपछि उनिसँग सचिवालयका सदस्य रुष्ट बनेका छन्।
सचिवालय सदस्यहरु भने, प्रधानमन्त्री ओलीले सचिवालयको निर्णय मान्नै पर्ने सार्वजनिकरुपमा बताउँदै आएका छन्।

























