चैत्र ५। विश्वव्यापी महामारीका रुपमा फैलिएको कोरोना भाइरसको संक्रमण अमेरिकाका सबै ५० राज्यमा फैलिएको छ। अन्तर्राष्ट्रिय सञ्चारमाध्यमका अनुसार अमेरिकाका ५० वटै राज्यमा कोरोना संक्रमण फैलिएको हो।
वेस्ट भर्जिनियामा मंगलबार एक व्यक्तिमा कोरोना संक्रमण पुष्टि भएपछि अमेरिकाका सबै राज्यमा यो फैलिएको हो। अमेरिकामा अहिलेसम्म झण्डै ६ हजारजनामा कोरोना भाइरस (कोभिड–१९) को संक्रमण पुष्टि भएको छ। अहिलेसम्म कोरोना भाइरसका कारण अमेरिकामा १०५ जनाको मृत्यु भएको छ।
यसरी संक्रमण व्यापक बनेपछि अमेरिकाले त्यसको नियन्त्रण गर्न बजार बन्द गराउनाका साथै भिडभाड गर्न प्रतिबन्ध लगाएको छ। सन फ्रान्सिस्कोको बे एरियाजस्तै न्युयोर्क सिटी लकडाउन गर्ने तयारी अमेरिकाले गरेको छ। यस्तै सेनाले १४ वटा आधिकारिक कोरोना भाइरस परीक्षण प्रयोगशाला स्थापना गर्ने भएको छ, जसमा सेना बाहेकका व्यक्तिहरुको परीक्षण गरिने छ।
विश्वभर अहिलेसम्म झण्डै दुई लाखजनामा कोरोनाको संक्रमण भएको छ। त्यसमध्ये झण्डै ८ हजार जनाको मृत्यु भएको छ।


























