काठमाडौं, चैत्र २ । कोरोना भाइरसको महामारीविरुद्धको लडाईंमा साझा रणनीति बनाउनका लागि दक्षिण एसियाली क्षेत्रीय सहयोग संगठन सार्कका नेताहरुबीच केहीबेरमा भिडियो कन्फ्रेन्स हुँदैछ।
भारतीय प्रधानमन्त्रीको अग्रसरतामा सार्कका नेताहरुबीच भिडियो कन्फ्रेन्स गर्न लागिएको हो।
कन्फ्रेन्समा मोदीसहित प्रधानमन्त्री केपी शर्मा ओली, बंगलादेशी प्रधानमन्त्री शेख हसिना, मालदिभ्सका राष्ट्रपति इब्राहिम मोहम्मद सोलिह, अफगानिस्तानका राष्ट्रपति अशरफ घानी, भुटानका प्रधानमन्त्री लोटे छिरिङ, श्रीलंकाली राष्ट्रपति गोताबाया राजपाक्षे सहभागी हुनेछन्। पाकिस्तानका तर्फबाट स्वास्थ्य मामिलाका लागि प्रधानमन्त्री इमरान खानका सल्लाहकार डा. जाफर मिर्जा सहभागि हुनेछन्।
सवा ५ बजे शुरु हुने कन्फ्रेन्समा दक्षिण एसियाली मुलुकहरुबीच कोरोना भाइरसविरुद्ध लड्नका लागि साझा रणनीति बनाउने प्रयास हुने भारतीय सञ्चारमाध्यमले जनाएका छन्।
१ अर्ब ७० करोड जनसंख्या रहेको दक्षिण एसियामा कोरोना भाइरसको ठूलो जोखिम रहेको बताइन्छ। अहिले सार्क क्षेत्रमा कोरोना भाइरसका १२९ वटा घटना देखा परिसकेका छन्।
कोरोना भाइरसका कारण सन् २०१६ देखि निष्कृयप्रायस् रहेको सार्क कोरोना भाइरसको प्रकोप बढेसँगै एकाएक सक्रिय बन्न लागेको हो।

























