काठमाडौँ, चैत्र २ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष तथा पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग सातै प्रदेशका प्रमुखहरूले भेटवार्ता गरेका छन्।
प्रदेश प्रमुखहरूले प्रचण्डसँग प्रदेशमा भएका समस्याहरूबारे जानकारी गराएको प्रचण्डको सचिवालयले जनाएको छ।
जवाफमा प्रचण्डले प्रदेश प्रमुख कार्यालयमा भएका समस्याहरूका बारेमा पार्टी र सरकारमा छलफल गरेर समस्याको हल गर्न प्रयत्न गर्ने बताएको उनको सचिवालयले जनाएको छ।
प्रदेशहरुले भोग्नु परेका समस्याबारे अवगत गराउन सती प्रदेशका प्रदेश प्रमुखहरुले राष्ट्रपति विद्यादेवी भण्डारी र प्रधानमन्त्री केपी शर्मा ओलीसँग पनि भेटघाटको योजना बनाएको बताइएको छ।
भेटमा प्रदेश १ को प्रमुख सोमनाथ अधिकारी प्यासी, प्रदेश २ का तिलक परियार, बागमती प्रदेशका प्रमुख विष्णुप्रसाद प्रसाईं, गण्डकी प्रदेशका प्रमुख अमिक शेरचन, प्रदेश ५ का प्रमुख धर्मनाथ यादव, कर्णाली प्रदेशका प्रमुख गोविन्दप्रसाद कलौनी र सुदूरपश्चिम प्रदेशकी प्रमुख शर्मिलाकुमारी पन्त उपस्थित रहेका थिए।


























